काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले (गुरुङ) समुदायले नयाँ वर्ष शुभारम्भको रूपमा मनाउने तमु ल्होसार/ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
देश तथा विदेशमा रहेका तमु समुदायका साथै समस्त नेपाली आमा बुवा, दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् । ‘तमु ल्होसार’ले आफ्नो समुदायको परम्परागत संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासमा विशिष्ट भूमिका खेलेको छ । यस पर्वमा तमु समुदायले आफ्नो भेषभुषा, पहिचान र संस्कारसहित जमघट हुने, गोष्ठी, प्रवचनका साथै नाचगान गर्ने र विभिन्न परिकार बनाएर खाने प्रचलन छ ।
संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकतालाई राष्ट्रियको मेरुदण्डका रूपमा आत्मसात गरेको उनले सन्देशमा उल्लेख गरेका छन् ।
सबै जातजाति र समुदायका नेपाली जनताबीच सामाजिक, सांस्कृतिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन ‘तमु ल्होसार’ले प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन् ।
प्रतिक्रिया