फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थाबाट बिजुली आपूर्ति गरिने

फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थाबाट बिजुली आपूर्ति गरिने


काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ-तराईरमधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका-८ मान्डु माल्टाबेँसी र इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थाबाट आपूर्ति गर्ने भएको छ ।

विद्युत् अभावमा फास्ट ट्र्याक निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको जनाएको छ । उक्त क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन ।

फास्ट ट्र्याकको मान्डु माल्टाबेँसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङ लगायत संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको जनाएको छ ।

फास्ट ट्र्याकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्ने छ । त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ ।

विद्युत् आपूर्ति वैकल्पिक व्यवस्था अन्तर्गत कुलेखानी पहिलो जलविद्युत् केन्द्र ढोर्सिङबाट मान्डुसम्मको पहिले चालु ६६ केभी लाइन ११ केभीमा सञ्चालनमा ल्याइने छ ।

काठमाडौंमा जगेडा रहेको २२.५ एमभीएको पावर ट्रान्सफर्मर ढोर्सिङ सबस्टेसन लगेर त्यहाँ जडान गरी सोहीमार्फत फास्ट ट्र्याकका लागि आवश्यक विद्युत् आपूर्ति दिइने छ ।

ढोर्सिङ सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि हाल ५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर पूर्णभारमा चालु रहेकाले थप विद्युत् प्रवाह गर्न नसकिने हुँदा अर्को ठूलो क्षमताको ट्रान्सफर्मर थप्न लागिएको हो ।