काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले संसदमा विचाराधीन विधेयकहरूलाई संसद्को आउँदो अधिवेशनमा पारित गर्ने गरी काम गर्न सांसदहरूलाई आग्रह गरेको छ ।
बुधबार सिंहदरवारमा बसेको पार्टी संसदीय दलको बैठकले ६ वटा समितिमा रहेका सांसदहरूलाई यस्तो आग्रह गरेको हो ।
समितिमा रहेका विधेयकहरूको अवस्था र ती विधेयकहरू पारित हुन नसक्नुका कारणबारे पार्टीका सांसदहरूसँग छलफल गरिएको सहमहामन्त्री जीवन परियारले बताए ।
‘हामीलाई के विश्वास छ भने समितिमा जतिसक्दो छिटो यी विधेयकहरूलाई अन्तिम टुंगोमा पुर्याएर संसदको अगामी अधिवेशनमा यी पन्ध्र वटै विधेयकहरू पारित गर्नको लागि हामीले माननीय सदस्यहरूसँग आग्रह गरेका छौँ । उहाँहरूले पनि तदारुकताका साथ विधेयकमाथि समितिमा छलफल गरेर अन्तिम टुंगोमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ परियारले भने ।
उनले विचाराधीन विधेयकका सन्दर्भमा संघीय संसद्का अर्थ, शिक्षा, कानून, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदहरूसँग छलफल गरेको बताए ।
समितिमा १५ वटा विधेयकहरू विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै संसदको हिउँदे अधिवेशन सुरु हुँदासम्म सबै विधेयक टुंगोमा पुर्याउन सांसदहरूलाई आग्रह गरिएको परियारले बताए ।
गत बिहीबार सत्तारुढ दुई दल नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित कार्यदलले संघीय संसदमा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया