नेतृत्वका लागि दौडधुप : चाक्सीबारीमा कोइराला, सिंह र निधीबीच भेटवार्ता

नेतृत्वका लागि दौडधुप : चाक्सीबारीमा कोइराला, सिंह र निधीबीच भेटवार्ता


काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसमा पारिवारिक विरासत बोकेका तीन नेता शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधीबीच भेटवार्ता भएको छ । केहीअअघि डा. शशांक कोइरालाको निवासमा भेट गरेका उनीहरूबीच बुधबार फेरि भेटघाट गरेका हुन् ।

शशांकका स्वकीय सचिव भरत तिवारीले आलोपालो बस्ने समझदारी अनुरूप भेट भएको जानकारी दिएका छन् । ‘यसअघि तीन नेताबीच भेट भएको थियो । बुधबार फेरि छलफल गर्नुभएको हो, तीन नेता सँगै बसेपछि राष्ट्रिय राजनीति, आन्तरिक राजनीतिक विषय, महाधिवेशनसहितका विषयमा छलफल त हुने नै भइहाल्यो ।’

शहरी विकास मन्त्री समेत रहेका सिंह निकट स्रोतले पनि १५ औं महाधिवेशन, सरकारको काम कारबाहीसहितका विषयमा छलफल भएको जानकारी दिएको छ । १५ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको दाबी नहुने भएपछि कांग्रेसमा अब को अगाडि बढ्ने भन्ने प्रतिस्पर्धा शुरू भएको छ । १४ औं महाधिवेशनमा पहिलो चरणमा निधी र सिंह देउवासँगै भिडेका थिए । तर दोस्रो चरणमा दुवैले देउवालाई समर्थन गरेका थिए ।

१३ औं महाधिवेशनमा महामन्त्री जितेका शशांक १४ औंमा केन्द्रीय सदस्य मात्रै लडे । तर १५ औं महाधिवेशनमा शशांकले पनि सभापतिमा आँखा लगाएका छन् । लगातार दुई महाधिवेशनमा देउवालाई सहयोग गरेको भन्दै देउवाबाट आशीर्वाद पाउनेमा शशांक ढुक्कले बसेका छन् । शशांकले देउवालाई नचिढ्याउने नीति लिएका छन् । मंगलबार मात्रै शशांकले सभापतिले चाहेको बेलामा १५ औं महाधिवेशनमा गर्न सक्ने बताएका थिए । कि चार वर्षभित्रै नभए २०८४ को निर्वाचनपछि १५ औं महाधिवेशन गर्नुपर्ने शशांकको भनाइ छ ।

तर अघिल्लो पटक प्रभाव पार्न नसके पनि सिंह र निधी दुवैले देउवाको उत्तराधिकारी हुने आशा मारिसकेका छैनन् । यता डा. शेखर कोइरालाले सभापतिमा उड्ने तयारी गरिसकेका छन् । महामन्त्री गगन थापाले पनि सभापतिमा उठ्ने गरी योजना अगाडि बढाएका छन् । कांग्रेसको १५ औं महाधिवेशन ०८२ मंसिरभित्र भइसक्नु पर्नेछ । तर, नियमित समयमा महाधिवेशन हुने सम्भावना न्यून छ । नेताहरूले भने दौडधुप बढाइसकेका छन्। नेतृत्वको दौड सुरू गरिसकेको भएपनि आगामी महाधिवेशन ०८४ को चुनावपछि गर्दा उपयुक्त हुने पक्षमा देखिएका छन् शशांक ।