गगनको प्रस्तावमा प्रमुख नेता बसेर छलफल गर्दा उपयुक्त हुन्छ : ‘प्रचण्ड’

गगनको प्रस्तावमा प्रमुख नेता बसेर छलफल गर्दा उपयुक्त हुन्छ : ‘प्रचण्ड’


काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग बनाउने काँग्रेस महामन्त्री गगन थापाको प्रस्तावमा सहमति जनाएका छन् ।

राज्य व्यवस्था समितिको आजको बैठकमा थापाले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न अहिलेको कानुन अपुग भए अर्को कानुन बनाउन प्रस्ताव गरेका थिए । साथै उनले अर्को कुनै शक्तिशाली आयोग बनाउन सकिने प्रस्ताव पनि राखे । त्यसका लागि प्रमुख दलका शीर्ष नेताहरूलाई सँगै राखेर दिनभर छलफल गर्नुपर्ने बताए ।

गगन थापाले यो कुरा नेताहरुले एक अर्कालाई आरोपित गर्नका लागि भ्रष्टाचारको फाइल खोलिदिन्छु भन्दै धम्कीको भाषा बोल्ने गरेको प्रसंग जोड्दै भनेका थिए। कसैले क्यान्टोनमेन्टको, कसैले गिरिबन्धुको फाइल खोल्छु भनेर बोल्ने गरेको भन्दै उनले त्यसबाट जनतामा भ्रम पर्ने गरेको बताए । सो प्रसंग जोड्दै थापाले यसबारे प्रमुख दलका शीर्ष नेताहरूलाई सँगै राखेर छलफल आवश्यक रहेको बताए ।

उनले भने, ‘यहाँ पूर्वप्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री पनि आइ नै रहनुहुन्छ । बरु एउटा बैठक आमन्त्रित गरेर भए पनि यही समितिमा छलफल गरौँ- भ्रष्टाचारका कुनकुन काण्डहरूको फाइल खोल्ने ।’

उनले थपे, ‘कहिले सरकारमा बसेको मान्छेले म फाइल खोल्दिन्छु भन्ने भयो । कहिले सरकारबाट बाहिर गएकोले मैले फाइल खोल्न खोज्दै थिएँ त्यही भएर यस्तो भयो भन्ने भयो । बाहिर बसेका मान्छेहरूलाई यो कस्तो फाइल हो रु फाइल कसले खोल्छ रु सरकारले खोल्ने फाइल कस्तो हुन्छ रु हामीले त अहिले अख्तियारको कानुन बनाउँदै छौँ । फाइल अख्तियारले खोल्ने हो । अख्तियार भनेको संवैधानिक निकाय हो । त्यसकारण फाइल खोल्दिन्छु, यो फाइल त्यो फाइल, फाइल-फाइल भनेर सुन्दा सुन्दा नागरिक पनि आजित भएको हुन्छ । त्यसकारण एउटा छलफल नै गरौँ ।’

थापाले भनाइ टुंग्याएपछि पुनः बोल्न समय मागेका ‘प्रचण्डले गगन थापाले राखेका कुरा गम्भीर भएको बताए । उनले भने, ‘गगनजीले जे राख्नु भएको छ आफैँमा गम्भीर विषय छ । मुख्य कुरा नियत र निष्ठाको हो । नियत ठिक र निष्ठापूर्ण भयो भने सकारात्मक दिशा तिर जान्छ । तर पनि प्रमुख नेताहरू बसेर छलफल नै गर्दा उपयुक्त हुन्छ।’