सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा

सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा


पाटन (ललितपुर)- नेपाली काँग्रेस, लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजनामा सर्वाधिक राशिको सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।

महाधिवेशन निर्देशक समितिले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी आगामी माघ १० देखि १७ गतेसम्म उक्त प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगिताको प्रथम पुरस्कार नगद रु २६ लाख र दोस्रो पुरस्कार नगद १३ लाख रहेको महाधिवेशन निर्देशन समिति २०८१ का संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिए।

दशरथ रङ्गशाला त्रिपुरेश्वरमा हुने प्रतियोगितामा राष्ट्रिस्तरका ‘ए’ डिभिजन क्लब र आमन्त्रित विदेशी दुई टोली सहभागी हुने जनाइएको छ । प्रतियोगितालाई अखिल नेपाल फुटबल संघले प्राविधिक सहयोग उपलब्ध गराउने छ । संयोजक बस्नेतले राज्यले खेलाडीहरूको क्षमताअनुसार प्रतिभा प्रस्फुटन र उनीहरूको क्षमता अभिवृद्धिका लागि बजेट छुट्याउन नसकेकाले सरकारलाई दबाब दिन प्रतियोगिता आयोजना गरिएको बताए ।

त्यसैगरी लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको बैठकले नयाँ खेलकुद विकास ऐन २०७७ सहित नेपाल ओलम्पिक विवादबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । मुलुकको हितमा योगदान गरेका ३६ जना स्वर्गीय नेता तथा सहिदहरूको सम्मानमा नेपाल लोकतान्त्रिक खेलकुद संघले देशैभर खेलकुद सञ्चालन गर्ने जनाएको छ ।

प्रतियोगिताका लागि व्यावसायिक घरानाबाट प्राप्त हुने विज्ञापन, टिकट बिक्रीबाट प्राप्त हुने रकम र पार्टीका नेता तथा शुभेच्छुकबाट प्राप्त हुने रकम खर्च गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।