सर्वेन्द्र खनालले छाडे एमाले

सर्वेन्द्र खनालले छाडे एमाले


काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै आफू कुनै पनि पार्टीमा आबद्ध नरहेको जानकारी दिएका हुन्।

उनले भनेका छन्, ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’ म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु।‘म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैँ सक्दो कार्यहरू गरिरहने छु।’

खनालले २६औं प्रहरी प्रमुखका रूपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए।

३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमालेसँग जोडिएका थिए। पछि औपचारिक रूपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका थिए।

उनले ०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ मा एमालेबाट उम्मेदवार बनेका थिए। त्यतिबेला उनी रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए।