सुनसरी । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन् ।
आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार गठनका बेला भएको सहमतिअनुसारै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।
उनले सरकार गठन अघि भएको सहमतिमा काँग्रेस र एमाले इमान्दार रहेको दाबी गर्दै सरकार परिवर्तन नहुने दाबी गरे । सहमति अनुसार नै एमाले अध्यक्ष केपी ओलीपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए। आउने निर्वाचनमा काँग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई थाहा छ । परिस्थितिको आवश्यकता अनुसार अहिलेको सरकार बनेको छ । हामी अहिले सँगै सरकारमा रहेर काम गरिरहेका छौँ, उपप्रधानमन्त्री सिंहले भने, “यो भन्दा अगाडीको सरकारले पूरा गर्न नसकेका विकास कामहरू यो सरकारले गरिरहेको छ ।”
त्यस्तै, उनले संविधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै त्यसका लागि सबै दलसँग छलफल भइरहेको बताए। अहिलेको सरकारले यसअघि सम्पन्न हुने नसकेका आयोजनालाई सञ्चालनमा ल्याएको उदाहरण दिँदै उनले सरकारले हल्ला नगरी काम गरिरहेको बताए। जनचाहना अनुसार आर्थिक समृद्धि र विकास निर्माणका काम सरकारको प्राथमिकतामा रहेको सिंहको भनाई थियो ।
प्रतिक्रिया