पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका तर्फबाट बहस सकिएको छ । आज (मंगलबार) जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसमा रविको तर्फबाट सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापा, डा. नारायण घिमिरेसहित ११ जना कानुन व्यवसायीले बहस गरेका हुन् ।
योसँगै पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको थुनछेक बहस सकिएको छ । रविका सबै कानुन व्यवसायीले प्रतिशोध साँधेर रविलाई फसाइएको बहस गरेका थिए । रवि भागेर कतै नजाने भएकाले तारेखमा छाड्नु पर्नेमा कानुन व्यवसायीको बहस रहेको थियो । आजै प्रतिवादी रामबहादुर खनालका तर्फबाट बहस सुरु गरिएको छ ।
अब एक–दुई जनाको बहस बाँकी रहेकाले बुधबार पनि निरन्तर रहने जिल्ला अदालत कास्कीले जनाएको छ । भोलि प्रतिवादीहरू मीना गुरुङ, कृष्ण बहादुर गुरुङ र आरती गुरुङको तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलहरुले जवाफी बहस गर्नेछन् । त्यसपछि न्यायधीश राईबाट प्रतिवादीहरूलाई थुनामै रहेर वा थुना बाहिरै बसेर मुद्दा लड्ने भन्ने आदेश आउनेछ ।
जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारी ठगीको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।
प्रतिक्रिया