लेखा समिति सभापतिका पूर्वस्वकीय सचिवलाई ५ दिन हिरासतमा राख्न अनुमति

लेखा समिति सभापतिका पूर्वस्वकीय सचिवलाई ५ दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले प्रहरीलाई पाँच दिन हिरासत राख्न अनुमति दिइएको बताए। ‘ठगीको कसुरमा पाँच दिनको म्याद दिइएको छ । अब उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ’ बुढाथोकीले भने ।

आज बिहीबार बिहान प्रहरीले पोखरेललाई पक्राउ गरेको थियो । उनीमाथि एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका-५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।

ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाएका थिए । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौँ बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।