अमेरिका। कार हिउँमा चिप्लिएर अमेरिकाको उत्तरी भर्जिनियामा दुई नेपालीको निधन भएको छ । काम गर्ने होटलमा पार्किंङ्ग गर्ने क्रममा हिउँमा कार चिप्लिएर सडक भन्दा तल रहेको पोखरीमा खसेको थियो । चिसोपानीको पोखरीमा गाडी डुबेपछि उनीहरुको निधन भएको बुझिएको छ । बिहीबार बिहानै चान्टिलीमा रहेको एउटा होटल बाहिर पोखरीमा कार डुबेर उक्त घटना भएको प्रहरीले जनाएको छ ।
फेयरफ्याक्स काउन्टी प्रहरीले बिहान ७:३० बजे सेन्टरभ्यू ड्राइभमा रहेको विन्डद्याम होटलको नजिकैको हिउँमा चिप्लिएको र चिसो पोखरीमा कारको आधा भाग डुबेको हो।
गाडी आंशिक रुपमा जमेको पानीमा डुबेपछि चालक ५५ वर्षीय कर्णबहादुर खड्का र सोही कारका यात्रु २१ वर्षीय निश्चल भट्ट भित्र फसेका थिए ।
उद्धार टोली कारमा पुग्दा, कार पानीमा आधा डुबेको अवस्थामा भेटिएको थियो । चिसो र गहिरो ठाउँमा डुबेपछि निस्कन नसकेर उनीहरूको निधन भएको बताइएको छ । कार पोखरीमा डुबेपछि खड्काले फोनबाट उद्धारका लागि अनुरोध गरेका थिए । प्रहरी केहीबेरमै त्यहाँ पुगेपनि उनीहरूको निधन भैसकेको थियो ।
खड्का सोही होटलमा काम गर्ने र भट्ट भने कामका लागि आवेदन दिने योजना बनाएर सँगै गएका थिए ।
नेपाली समुदायका स्थानीय समाजसेवी आशिष संग्रैलाका अनुसार खड्का सपरिवार बस्दै आएका हुन् भने भट्ट विद्यार्थी हुन् । मृतक द्वयको अन्त्यष्टिका लागि परिवारसँग सम्पर्क र समन्वय भैरहेको पनि उनले जानकारी गराएका छन् ।
प्रतिक्रिया