सिंहदरबारमा प्रचण्ड, नेपाल र लिङ्देनबीच भेटवार्ता

सिंहदरबारमा प्रचण्ड, नेपाल र लिङ्देनबीच भेटवार्ता


काठमाडौं । प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको हो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित रहेको थियो । राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीमा चियापान समारोह गर्दैछ । यसै सन्दर्भमा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग पनि भेटवार्ता गरिसकेका छन् । शुक्रबार दिउँसो सिंहदरबारमा प्रचण्ड र माधव नेपाल भेटवार्ता चलिरहँदा लिङ्देन पुगेका हुन् ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीको अवसरमा आयोजित पार्टीको चियापान समारोहको निम्तो दिन लिङ्देनले प्रचण्ड र नेपाललाई भेट गरेका हुन् । ‘हामी निम्तो दिने कार्यक्रममै व्यस्त छौं,’ श्रेष्ठले भने, ‘स्वभाविक रुपमा तीन नेताबीच भेट भएपछि केही कुराकानी त हुने नै भयो ।’