ललितपुर । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणमा नेपालले विश्वलाई सन्देश दिनुपर्नेमा जोड दिएका छन् ।
वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा पार्टी कार्यालय सानेपामा आज आयोजित वन, वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी कार्यपत्र प्रस्तुतीकरण कार्यक्रममा बोल्दै सभापति देउवाले डिजेल, पेट्रोलको प्रयोग घटाउनुपर्ने र विद्युतीय सवारीसाधन प्रयोगलाई बढाउनुपर्ने बताए । “जलवायु परिवर्तनको असरले नेपाल पीडित छ, यसको असर न्यूनीकरणका लागि नेपालले चाहेर मात्रै हुँदैन, नेपालले विश्वलाई सन्देश दिने गरी गर्न सक्ने विषय धेरै छन्,” उनले भने ।
उनले काठमाडौँ उपत्यकामा मात्रै विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सके जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठुलो उपलब्धि हुने धारणा राखे। “समुन्द्री सतह बढेको छ, हिमाल नाङ्गो भइरहेको छ, त्यसैले नेपालले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय जलवायु परिवर्तन हो”, सभापति देउवाले भने । उनले देशमा ६० प्रतिशत जङ्गल बचाउन सकेमा मात्रै ठुलो मद्दत पुग्ने बताए ।
प्रतिक्रिया