काठमाडौं– काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दामा रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा थुनछेक बहसका क्रममा छन्।
बन्द इजलाशमा उनले बयान सकेका छन्। दुई पूर्वमहान्यायाधीवक्ता, पार्टीका दुई वकिलसहित लामिछाने थुनछेक बहसका निम्ति दुई दर्जन कानुन व्यावसायी लिएर अदालती बहसमा छन्।
बन्द इजलाशमा न्यायाधीश छन्– माधवप्रसाद अधिकारी।
तर, यो खुला इजलाश हो र यहाँका न्यायाधीश पाठक हुन्। खुला इजलाशबाट रविलाई प्रश्नसहित त्यसको ब्रिफिङ गरिएको छ। उनलाई प्रश्न छ– गोर्खा मिडिया नेटवर्क प्रालि निजी कम्पनी थियो र त्यसका प्रबन्ध निर्देशक (एमडी) चढ्ने करोड बढी मूल्य पर्ने कम्पनीको गाडी सहकारीबाट ऋणमा लिन मिल्दैन भन्ने थाहा थिएन?
अर्को प्रश्न छ– अनि त्यसको किस्ता भर्दा सहकारीलाई चेक काटेर दिएपछि पनि थाहा छैन भन्न मिल्छ? यो उत्तरदायी एमडीले दिने सही उत्तर हो?
अनि गोरखा मिडिया प्रालिको रकम कहाँबाट आयो भन्ने थाहा नपाई आफ्नी पत्नी कार्यकारी भूमिकामा रहेको गोपीकृष्ण मुभिजमा रकमान्तर गर्न मिल्थ्यो?
प्रश्न अनेक छन्। तर, यी तीन प्रश्नको ब्रिफिङ आवश्यक छ।
पहिलो र दोस्रोको ब्रिफिङ–
कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको रकमबाट जीबी राई र रवि लामिछानेले गाडी खरिद गरेको भेटिएको थियो। जिल्ला अदालत, काठमाडौंमा दायर अभियोग पत्रमा जीबी र रविका नाममा गाडी खरिदका लागि दुई पटक ऋण निकासा गरिएको मिसिल न्यायाधीशले पाइसकेका छन्।
दायर अभियोग पत्रमा राई र लामिछानेले पहिलो पटक ४ भदौ २०७८ मा ४६ लाख ९८ हजार ऋण लिएको उल्लेख थियो। सहकारीको सफ्टवेयरबाट प्रहरीले बरामद गरेको विवरणको कैफियत खण्डमा त्यो ऋण ‘फोर ह्वीलर लोन’ भएको उल्लेख थियो।
पछि १ पुस २०७८ मा फेरि सहकारीबाट दुई जनाको नाममा ऋण प्रवाह भएको छ, त्यसबेला ‘ईको ७ सिटर’ भ्यान खरिद गर्ने भनिएको छ। लामिछाने र राईले चार पांग्रे कर्जाका लागि भनेर सहकारीमा ऋण खाता खोलेर त्यसका लागि निवेदन दिएको प्रहरीले उल्लेख गरेको थियो।
‘निवेदनमा आफूहरुले सही, छाप समेत नगरी सो खातामा ४६ लाख ९८ हजार रकम जम्मा गर्न लगाएर त्योमध्ये ३२ लाख ८८ हजार ६०० रुपैयाँ र १४ लाख ९ हजार ४ सय रुपैयाँ नारायणी अटो विजनेश प्रा.लि.लाई चेकमार्फत भुक्तानी गरेको देखिन्छ’, अभियोग पत्रमा भनिएको थियो, ‘७ सिटर इको भ्यान खरिद गरेर गाडी गोरखा मिडिया नेटवर्क प्रा.लि.ले प्रयोग गरेको र सो ऋण प्रतिवादी रवि लामिछानेले गोरखा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंक लि.को खाताबाट जारी भएको चेकमार्फत स्वर्णलक्ष्मी सहकारीको कुमारी बैंक लि.मा रहेको खातामा भुक्तान गरेको देखिन्छ।’
त्यस्तै लामिछाने समेतले गोर्खा मिडिया नेटवर्क प्रालि.का लागि आवश्यक पर्ने अन्य चारपांग्रे गाडीको लागि समेत सोही प्रक्रियाबाट स्वर्णलक्ष्मी सहकारीबाट ४६ लाख ४८ हजार रुपैयाँ कर्जा लिएको भनिएको थियो।
‘.. त्यो कर्जाबाट थप गाडीहरु खरिद गरी सो गाडीहरु समेत गोरखा मिडिया नेटवर्कले प्रयोग गरेको मिसिल संलग्न रहेका कागजातहरुबाट स्पष्ट देखिन आयो’, अभियोग पत्रमा भनिएको थियो।
अन्तिम ब्रिफिङ–
अभियोग पत्रमा रविले गोर्खा मिडिया प्रालिबाट श्रीमती निकिता पौडेललाई ३५ लाख दिएको र निकिता आवद्ध गोपीकृष्ण मुभिज्को नाममा दुई पटक गरेर ९१ लाख दिएको देखिन्छ।
गोर्खा मिडियाको सिद्धार्थ बैङ्कमा रहेको खाताबाट २०७७ असोज ११ मा निकिताको नाममा ३५ लाख गएको देखिन्छ। रविले ‘गोर्खा मिडिया नेटवर्कको उपकरण अर्डर भएको तर नआइसकेको अवस्थामा आवश्यक इक्युपमेन्ट, जनशक्ति लगायतको कन्सल्टेन्सी टिभी फिल्मीले उपलब्ध गराएकाले पेस्की स्वरूप गोपीकृष्ण मुभिजको तत्कालीन अध्यक्ष निकिता पौडेललाई उपलब्ध गराएको रकम हुनुपर्छ’ भनेका छन्।
यसैकारण सो रकम उनको नाममा गएको प्रस्ट खुलाउन सकेका छैनन्। निकिताको नाममा गोर्खा मिडिया नेटवर्कबाट गएको रकमको प्रयोजन के हो भन्नेबारे अर्का सञ्चालक छविलाल जोशीले ‘त्यसबारे जानकारी छैन। जीवी राई र रवि लामिछानेलाई थाहा होला’ भनेका छन्।
अर्को विवरणमा गोपीकृष्ण मुभिज्को नाममा दुई पटक रकम भुक्तानी भएको थियो। अभियोग पत्रमा राखिएको विवरण अनुसार २०७८/०७९ मा गोपीकृष्णको नाममा ६६ लाख २५ हजार र २०७७/०७८ मा २५ लाख भुक्तानी भएको देखिन्छ। यी दुवै रकम भुक्तानीको उद्देश्य भने एफएम खरिद गरेको उल्लेख छ।
गोपीकृष्ण मुभिजले रेडियो फिल्मी नममा एफएम रेडियो र मनोरञ्जनात्मक टेलिभिजन सञ्चालन गर्ने गथ्र्यो। अहिले टेलिभिजनको नाम बदलेर नारी टिभी बनाइएको छ। सिनेमा हल समेत चलाउने गोपिकृष्ण मुभिजको हल भएको स्थान अहिले खण्डहर समान छ। हल समेत बन्द भइसकेको छ।
यी प्रश्नका उत्तर र छेक्ने तर्कमा रविका वकिल अदालतमा जबरजस्त प्रस्तुत हुन सक्लान् तर तथ्य र उपलब्ध प्रमाणलाई नामेट बनाउन सक्लान् र? बन्द इजलाशमा के–के होला अलग विषय भयो तर खुला इजलाशका यस्ता प्रश्नबाट रवि तर्किन पाउने छैनन्।
प्रतिक्रिया