नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने चीनको घोषणा

नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने चीनको घोषणा


काठमाडौँ । २०७२ यता चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने घोषणा गरेको छ । यससम्बन्धी जानकारी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा दिएकी हुन् ।

उनका बैठकमा भनिन्, ‘चीन सरकारका तर्फबाट बि. सं. २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब ने. रू. २ अर्ब ७० करोड) का अतिरिक्त राष्ट्रपति सी चिनफिङद्वारा थप अनुदान आरएमबी ५०० मिलियन (करिब ने.रू. ९ अर्ब ३४ करोड) घोषणा भएको छ’ समितिको बैठकमा प्रस्तुत विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले गत मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमण गरेका थिए । सो क्रममा चिनियाँ राष्ट्रपति सीले करिब ९ अर्ब ३४ करोड रुपैयाँ थप अनुदान दिने घोषणा गरेको परराष्ट्र मन्त्री राणाको भनाइ छ ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणबारे छलफल गर्न परराष्ट्र मन्त्री राणालाई बोलाएको हो ।

मन्त्री राणाले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ति जारी गरिएको र उक्त विज्ञप्तिमा दुई देशबीच विगतमा भएका सहमति, समझदारी तथा निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्नुका साथै नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजाने भावी कार्यदिशा समावेश बताएकी छन् ।

साथै, सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउने, दुई देशबीच सम्पन्न सम्झौता समझदारीहरूको कार्यान्वयनलाई थप गति दिने, उच्चस्तरीय आदान-प्रदान कायम राखे, आपसी विश्वासलाई सुदृढ बनाई द्विपक्षीय हितका लागि सहकार्य विस्तार गर्ने लगायतका विषय उल्लेख गरिएको छ ।