काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरे । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका हुन् ।
थुनछेक बहस नसकिएपछि न्यायाधीशले उनलाई प्रहरीसँगै पठाउने आदेश गरे । लामिछानेले आफूलाई थुनामा नपठाउन अपिल गरेका थिए । थुनछेक बहसका क्रममा बोल्दै उनले आफैँ अदालतमा आउने प्रतिबद्धता जनाएका थिए । तर न्यायाधीश अधिकारीले प्रहरीकै जिम्मा लगाउन आदेश दिएका हुन् ।
रवि अब आज र भोलि हिरासतमै रहनेछन् । भोलि सरकारी बिदा रहेका कारण अदालत नखुल्ने भएकाले पर्सि मात्रै थुनछेकको बाँकी बहस हुनेछ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।
प्रतिक्रिया