महानगरले भन्यो- प्रदेश मन्त्री लामिछानेले विषयवस्तु नबुझी दिएको अभिव्यक्ति गैर जिम्मेवार हो

महानगरले भन्यो- प्रदेश मन्त्री लामिछानेले विषयवस्तु नबुझी दिएको अभिव्यक्ति गैर जिम्मेवार हो


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विषयवस्तु नबुझी बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले गैर जिम्मेवार अभिव्यक्ति दिएको बताएको छ ।

महानगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेले, महानगरपालिकाले राजस्व बाँडफाँडको रकम प्रदेश सरकारलाई नपठाएको विषयमा दिएको अभिव्यक्ति गैर जिम्मेवार र विषय नबुझी गरेको टिप्पणी भनेको छ । ‘माघ २ गते बुधबार काठमाडौँमा बागमती प्रदेश सरकारले आयोजना गरेको स्थानीय तहका महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि कार्यक्रममा काठमाडौँ महानगरपालिकाले प्रदेश सरकारलाई राजस्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको भन्ने बारेमा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’ सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘माननीय मन्त्रीले काठमाडौँ महानगरपालिकाले राजस्व प्रदेश सरकारलाई बुझाउनु पर्ने भए पनि अहिलेसम्म राजस्व नबुझाएको र बजेट चाहिएपछि प्रदेश सरकारसँग बजेट माग्ने भन्दा बाहेक अरु कुरामा कहिले पनि समन्वय भइरहेको छैन ।’ यो भनाइ आफैँमा गैर जिम्मेवार र विषय वस्तुको जानकारी नलिई व्यक्त गरेको देखिन्छ ।