बाँके- जिल्लाको नरैनापुर गाउँपालिका-१ नेपाल बडर आउट पोष्ट कटकुईयाको पूर्वीसीमा क्षेत्र सुइया नाकामा सशस्त्र प्रहरीद्वारा निर्मित भौतिक संरचनाको आज उद्घाटन गरिएको छ ।
‘सीमा बासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको अवधारणाअनुरूप सशस्त्र प्रहरी बल नं ३० गण हेड क्वाटर बागेश्वरी गण र गाउँपालिकाको संयुक्त सहकार्यमा नेपाल भारत आवतजावत गर्ने सर्वसाधारणका लागि पिउने पानीको धारा, सार्वजनिक शौचालय र चौतारोसहित भवनको उद्घाटन गरिएको हो ।
बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीका अनुसार छिमेकी मुलुक भारतसँग सीमा जोडिएको नरैनापुर–१ सुइयामा सार्वजनिक शौचालय, शुद्ध खानेपानीका लागि ट्यांकीलगायत संरचना रु. दुई लाखमा निर्माण गरिएको हो । साथै डुडुवा गाउँपालिका-१ खडैँचामा प्रतीक्षालय र खानेपानी ट्यांकी निमार्ण गरिएको उनले बताए ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रलाई लक्षित गरेर ‘सीमा क्षेत्र विकास योजना’ सञ्चालन गरिरहेका जनाउँदै डाँगीले सोही योजनाअन्तर्गत नेपाल–भारत सिमानाका स्थानीयको आवश्यकताअनुसार सशस्त्र प्रहरीले धारा, प्रतीक्षालय र शौचालय निर्माण गर्दै आएको बताए ।
“सीमा नाकामा बस्ने दुई देशका नागरिकलाई आवतजावत गर्दा शौच गर्ने वातावरण सहज होस् भन्ने उद्देश्यले हामीले सीमानाका भौतिक संरचना निमार्ण गरेका हौँ”, उनले भने, “खानेपानी र शौचालयको व्यवस्थाले वातावरण सफा हुनुका साथै स्थानीयको स्वास्थ्यमा पनि सुधार हुँदै जानेछ ।”
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले पुर्याएको योगदान सराहनीय रहेको बताए । “सीमाका बासिन्दाको खानेपानी, वातावरणीय सरसफाइलगायत पक्षलाई समेटेर सशस्त्र प्रहरीले उदाहरणीय कामको सुरुआत गरेकामा धन्यवाद”, उनले भने, “शान्ति सुरक्षासँगै वातावरण सरसफाइसँग जोडिएको शौचालयको विषयमा पनि सशस्त्र प्रहरी गम्भीर छन् । यस्ता भौतिक संरचनाले विशेषगरी महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्रत्यक्ष सहयोग पुग्नेछ ।”
नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयसँगको सम्बन्ध अझ प्रगाढ र सुमधुर बनाएर काम गर्न सशस्त्र प्रहरीको यो कदम प्रशंसायोग्य रहेको बताए ।
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गरिरहेको भूमिका अतुलनीय रहेको भन्दै प्रशंसा गरे । उनले सशस्त्र प्रहरीसँग समन्वय गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)का श्रावस्ती ६२ बटालियन कमान्डेन्ट अमरेन्द्रकुमार बरुनले सीमा क्षेत्रमा सशस्त्र प्रहरीसँग नियमित बैठक र समन्वय हुने गरेको बताउँदै उनले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसँग नेपालबाट गाँजा, चरेश र मदिरालगायत सामग्री भारततर्फ हुने तस्करी नियन्त्रणमा समन्वय गरिदिन आग्रह गरे ।
सीमा नाकामा शौचालय, खानेपानी र प्रतीक्षालय निर्माण गरेर दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको भन्दै भारतीय एसएसबी अमरेन्द्रले प्रशंसा गरे । उनले दैनिक दुई सयदेखि चार सयसम्म नागरिक नेपाल–भारत आवतजावत गर्ने गरेकोले शौचालय निर्माणले यात्रुलाई सहज हुने विश्वास व्यक्त गरे ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले सीमा क्षेत्रमा सशस्त्र प्रहरी उभिएको देख्दा राष्ट्र त्यहाँ उभिएको अनुभूति हुने गरेको बताए । उनले नेपाल-भारत सीमा क्षेत्रबाट हुने चोरी, तस्करी नियन्त्रणसँगै सीमा सुरक्षा, विपद् व्यवस्थापनलगायत क्षेत्रमा सशस्त्र प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै नेपाल-भारत सिमानामा हुने तस्करी नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिए ।
प्रतिक्रिया