यू-१९ महिला टी-२० विश्वकप : पहिलो पटक सहभागी हुँदै नेपाल, भोलि बांङ्लादेशसँग खेल्ने

यू-१९ महिला टी-२० विश्वकप : पहिलो पटक सहभागी हुँदै नेपाल, भोलि बांङ्लादेशसँग खेल्ने


काठमाडौँ । आइसिसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरु हुँदै छ । नेपालको महिला टोली पनि यस विश्वकपमा पहिलो पटक सहभागी हुँदैछ ।

चार समूहमा विभाजित १६ टोली सम्मिलित यस विश्वकपमा नेपाल समूह डी मा अस्ट्रेलिया, बांङ्लादेश र स्कटल्यान्डसँगै छ । उद्घाटन खेलमा नेपालले शनिबार नै बांङ्लादेशसँग खेल्दै छ ।

मलेसियाको बांगीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरु हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा बांङ्लादेशको कप्तानमा सुमैया अक्तर छन् ।

नेपालले बांङ्लादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू-१९ एसिया कपमा खेलेको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो ।