सहिद दिवस : सम्मानको सार्थकता कसरी सुनिश्चित गर्ने ? ऐतिहासिक पृष्ठभूमि र वर्तमान दृष्टिकोण

सहिद दिवस : सम्मानको सार्थकता कसरी सुनिश्चित गर्ने ? ऐतिहासिक पृष्ठभूमि र वर्तमान दृष्टिकोण


माघ १६ अर्थात् सहिद दिवस । देश र जनताको स्वतन्त्रता, अधिकार र समानताको रक्षा गर्न अमर बलिदान दिने वीर सहिदहरू प्रति उच्च सम्मान व्यक्त गर्दै आज देशभर सहिद दिवस मनाइँदै छ । जीवनको आहुती दिएर इतिहास रचेका ती महान् सहिदहरूको स्मरण गर्दै, उनीहरूले देखाएको सत्मार्ग अनुसरण गर्ने दृढ प्रतिबद्धताका साथ यो दिवस मनाइन्छ ।

काठमाडौँ । सहिद भन्नाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको हितका निम्ति बलिदान दिने महान् व्यक्ति भनेर बुझिन्छ । नेपालमा प्रत्येक वर्ष यस्ता ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धा सुमन व्यक्त गर्ने गरिन्छ । अधिनायकवादी शासन व्यवस्थाको विरुद्धमा नेपाली जनताले आवाज उठाउन थालेको निकै वर्ष भएको छ ।

हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनिकी सुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरूको बलिदान रहेको छ । आज तिनै सपुतहरूको सम्झना र सम्मानको हो, माघ १६ अर्थात् शहीद दिवस । परिवर्तित परिपक्ष्यमा नेपाललाई शहीद दिवसका रूपमा मात्र नभई शहीद सप्ताहका रूपमा एक हप्ता अगाडि देखिनै विभिन्न कार्यक्रम गरेर मनाइने गरिन्छ ।

शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहीद सप्ताहका रूपमा मनाइन्छ । आज हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, समानता अनि सार्वभौमिकताका लागि शहीदहरूले दिएका बलिदान अझै पनि टेकुको शुक्र वृक्ष, सिफलको रुख लगायत विभिन्न घटनाक्रमहरूले दिने गरेको छ ।

नेपालको पहिलो शहीद
नेपालको पहिलो शहीद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम संवत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुन्ड्याएर मारिएको थियो । थापा तत्कालीन सैन्य पल्टनमा कार्यरत थिए । शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको हो ।

विक्रम संवत् १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौँको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुन्ड्याइएको थियो भने धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो । त्यसै गरी माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो र सोही दिन राति १० बजे शोभा भगवतीमै लगेर गङ्गालाल श्रेष्ठलाई खम्बामा बाँधी गोली हानी हत्या गरिएको थियो ।

यस्तै नेपाली प्रजातान्त्रिक इतिहास अनि वीर शहीदहरूको, राणा शासनकाविरुद्धमा अनि प्रजातन्त्र बहालीका लागि सहिदहरूले बलिदान दिएकोमा वि.सं. २००७ सालको प्रजातन्त्र पश्चात् पुनः निर्दलीय व्यवस्था लगायत ३२ सालको जनमत सङ्ग्रह हुँदै २०४७ सालमा भएको संवैधानिक राजतन्त्र अनि बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना सम्ममा धेरै ज्ञात अज्ञात नेपाल आमाका छोराछोरीहरू शहीद भएका छन् ।

यस्तै माओवादीले गरेको दश वर्ष लामो सशस्त्र संघर्ष, २०६२/०६३ को दोस्रो जनआन्दोलन र तराई–मधेस तथा थरुहट आन्दोलनमा सयौँले ज्यान गुमाए । त्यसपछिको कालखण्डमा भएका द्वन्द्व अनि हिंसाको फेहरिस्त लामै छ, अझै धेरै नेपालीहरू बेपत्ता पारिएको सुचीमा छन् भने दोषी निर्दोषी सबै जनाको वीर गतिको विवरण लामो छ ।

पछिल्ला वर्षहरूमा धेरै सहिद थपिएका छन् । यसरी जथाभाबी सहिद थप्दा सहिद शब्दकै अवमूल्यन भएको जानकारहरू बताउँछन् । सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गराएर सहिदहरूको सूची बनाउने गरेको छ । गृह मन्त्रालयका अनुसार करिब १२ हजार जनालाई सहिदको सूचीमा राखिएको छ ।
हेर्नुहोस् सूची :

यसरी भएको थियो ‘ज्यूँदो सहिद’ कायस्थको निधन
विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको केही समयअघि निधन भयो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का कायस्थ जनआन्दोलनमा घाइते हुँदा मात्र १५ वर्षका थिए । घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो ।

जनआन्दोलनताका कायस्थ बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै थिए । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते उनी बनेपाको तीन दोबाटोमा बायाँ कन्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए ।

कायस्थको बायाँ हात राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भए पनि टाउकोमा गहिरो घाउ थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएपछि ओछ्यानमा थला परेका कायस्थलाई ‘ज्यूँदो सहिद’ भन्ने गरिन्थ्यो ।

उनी ओछ्यानबाट कहिल्यै उठ्न सकेनन् । परिवार र स्वास्थ्यकर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका थिए । उनी २०७५ असारदेखि थप बिरामी परेका हुन् । स्वाथ्योपचारलगायतका लागि कायस्थको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको छ । सरकारले उनको उपचार खर्च, रु १५ हजार मासिक भत्ता, एक सुसारेको लागि छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

कायस्थ परिवारको एक्लो छोरा थिए । उनका बुबा कृष्णमान कायस्थले भने, ‘परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्ध चेत हुने गरी घाइते भएपछि हाम्रो हालत के भएको थियो होला, १७ वर्षसम्म ओछ्यानमै, आफैँ मनन गर्नुस् ।’ उनले थपे, ‘अहिले उ हामी माझ नभएता पनि नसम्झेको समय हुदैँन । अब हुने भइहाल्यो जनआन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना हाम्रो छ ।’

के भन्छन् राजनीति विश्लेषक ?
पछिल्लो समय नेपाली राजनैतिक पृष्ठपोषकहरूले झिना मसिना घटनाक्रम अनि राजनैतिक स्वार्थअनुरूप सहिदहरू तोक्ने अनि खुद्रारुपमै सहिदहरूको फेहरिस्त तैयार गरिदिएको जनगुनासोहरू बढिरहेको छ । यसले सहिद प्रतिको सम्मान गिरेको विज्ञहरूको भनाइ छ । सहिदले देखाएको बाटोमा हिँड्नुपर्ने राजनीतिक विश्लेषक गणेश कुमार मण्डल बताउँछन् ।

आज सहिदको सपना पूरा गर्ने संकल्पको दिन भएको भन्दै उनले सहिदले देखाएको सपना र प्रतिरोधको बाटोमा अघि बढ्नुपर्ने बताए । समाजमा विद्यमान जातीय, लैङ्गिक र क्षेत्रीय उत्पीडन आफूहरूलाई मान्य नहुने उनको भनाइ छ । सरकारले सहिदलाई स्थापित गर्नका लागि केही गर्न नसकेको भन्दै उनले अब योजना बनाएर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘हामीले के कुरालाई हेक्का राख्न जरुरी छ भने सरकारले सस्तो लोकप्रियता आर्जन गर्ने नाममा जथाभाबी सहिद घोषणा गर्दै आएको छ । यसले सच्चा सहिदको अपमान भएको छ । त्यसैले सरकारको यस प्रकारका निर्णयलाई अब पुनरावलोकन गर्नुपर्छ । अमर सहिदहरूलाई सम्मान गर्नु असल नागरिकको कर्तव्य हो ।’

अन्त्यमा
परिवर्तनको मार्ग कोर्न र भावी पुस्ताको उज्ज्वल भविष्य सुनिश्चित गर्न ज्यान अर्पण गर्ने ज्ञात–अज्ञात सम्पूर्ण सहिदहरूलाई श्रद्धाञ्जली । अब यी सहिदहरूको सपना, त्याग र बलिदान कत्तिको साकार भयो भन्ने प्रश्न नेपाली राजनीति र नेतृत्वले गम्भीरतापूर्वक आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।

सहिदका परिवारहरू, उनीहरूको घर–परिवार तथा दूरदराजमा रहेका सहिद परिवारका सदस्यहरूको वर्तमान अवस्था कस्तो छ ? यसबारे गम्भीर रूपमा सोच्न आवश्यक छ । आज देशभर विभिन्न कार्यक्रममार्फत सहिद दिवस मनाइँदैछ । तर सहिदहरूको सम्झनालाई केवल माल्यार्पण र अबिरसम्म सीमित राख्ने होइन, उनीहरूलाई मुटुभित्र राखौँ, देशलाई माया गरौँ ।

कवि भूपी शेरचनको एक भनाइ
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पिरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए !