काठमाडौँ । शनिबार सिंहदरवारभित्र भएको आगलागीको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा आकस्मिक समयमा सांसदले सिंहदरवार भित्रै रहेको खानेपानी मन्त्रालयमा शनिबार भएको आगलागीको कारण र क्षतिको विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् ।
नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सिंहदरवारमा रहेको खानेपानी मन्त्रालयमा भएको आगलागी हुनुको कारणबारे संसद्लाई जानकारी गराउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘सभामुख महोदय, हिजो बिहान सिंहदरवार स्थित खानेपानी मन्त्रालयमा आगलागी भयो । नेपालको राज्य सञ्चालनको केन्द्र खानेपानी मन्त्री प्रदिप यादव ज्यूको कार्यकक्षमा आगलागी भयो । यसले हामीलाई हाम्रो सुरक्षा, हाम्रो संवेदनशीलता र हाम्रो सचेतनाप्रति प्रश्न उठाएको छ । यो कसरी भयो ? यो कसरी यस्तो घटना हुन पुग्यो भन्ने विषय मलाई लाग्छ यो संसद्लाई जानकारी भयो भने यसले एउटा राम्रो सन्देश जान्छ भनेर ध्यानाकर्षण गर्दछु ।’
यस्तै पूर्वमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले पनि सिंहदरवारमा रहेको खानेपानी मन्त्रालयमा भएको आगलागीको कारण र त्यसबाट पुगेको क्षतिबारे सरकारले सदनलाई जानकारी गराउन ध्यानाकर्षण गराए ।
उनले भने, ‘हिजो मात्रै सिंहदरबारमा रहेको खानेपानी मन्त्रालयमा आगलागी भयो भन्ने कुरो छ । आगलागी के कारणले भयो ? कसरी भयो र त्यसबाट के असर र क्षति पुग्यो, त्यस सम्बन्धमा सम्बन्धित मन्त्रालयबाट अथवा सरकारबाट सदनलाई पुर्णरुपमा जानकारी गराइयोस् ।’
नेपाली काँग्रेसका सांसद कान्तिका सेजुवालले पनि खानेपानी मन्त्रालयमा भएको आगलागीबारे जानकारी गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘हिजो खानेपानी मन्त्रालयमा के कसरी आगलागी भएको हो कारण सहित संसद्लाई जानकारी गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विन्दवासिनी कंशाकारले पनि सरकारको लापरबाहिले सिंहदरवार सहित देशभरका विभिन्न स्थानमा आगलागी भइरहेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराइन ।
आगलागीका घटना र नियन्त्रणमा सरकारको तयारीबारे सभामुखसँग रुलिङ गर्न माग यसैविच नेकपा (एमाले)का सांसद रघुजी पन्तले देशभरमा भइरहेका आगलागीका घटनाका विषयमा संसद्लाई जानकारी गराउनका लागि सभामुख देवराज घिमिरेसँग रुलिङको माग गर्दै आगलागी नियन्त्रणका लागि सरकारको तयारीबारे गृहमन्त्री रमेश लेखकले सदनमा जानकारी गराउनुपर्ने माग गरेका छन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भने ‘देशभरमा यो विचमा के कहाँ आगलागी भए, के कति क्षति भयो, सभामुखबाट रुलिङ होस् । आगलागी नियन्त्रणमा सरकारको तयारी के कस्तो छ ? गृहमन्त्रीले संसदमा जानकारी गराउनुपर्यो ।’
प्रतिक्रिया