पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले पहिलो सहभागितामै आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न २४औँ संस्करणकोे प्रतियोगिताको फाइनल खेलमा ६ पटकको बिजेता विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै ब्ल्याक बुल्सले उपाधि हात पारेको हो ।
योसँगै प्रतियोगिताले नयाँ बिजेता समेत पाउँदा पराजित भएसँगै पुलिसको साताैँ पटक उपाधि जितेर धेरैपटक उपाधि जित्ने टोलीमा आफ्नो नाम लेखाउने अवसरबाट चुकेको छ । २४औँ संस्करणसम्म आइपुग्दा ६ पटक उपाधि हात पारेको पुलिसको यो ११ पटकको फाइनल यात्रा थियो ।
खेलमा ब्ल्याक बुल्सले पहिलो हाफमा एक र दोस्रो हाफमा थप दुई गोल गर्दा पुलिसले समेत सान्तवना गोल गरेको थियो । खेलको ४०औँ मिनेटमा जाखोनगिर अख्मादोभले हानेको फ्रिकिक विपक्षी किपर सत्रुधन चौधरीको पन्च नगरी बल समात्न खोज्ने क्रममा समात्न नसकेपछि बलले जाली चुम्न पुगेको थियो ।
५९औँ मिनेटमा असिलबेक ओरिफजोनोभले गोग गर्दै टोलीको अग्रता दोब्बर पारेका तिए । ६६औँ मिनेटमा साभाकात्जोन सत्तरोभले टोलीको अग्रता तेब्बर पारेका थिए । तीन गोलले पछि परेको अवस्थामा खेलको ७४औँ मिनेटमा पुलिसका लागि शिशिर चौधरीले सान्तवना गोल गरेका थिए ।
यसअघि वाई पाएर सिधैँ क्वाटरफाइन प्रवेश पाएको ब्ल्याक बुल्सले अर्को पाहुना टोली भारतको थन्डरबोल्ट नर्थ युनाईटेडलाई क्वाटरफाइनमा ३–१ गोल अन्तरले र सेमिफाइनलमा पाँचपटकको विजेता थ्री स्टार क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो ।
प्रतिक्रिया