मोरङ । भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) बाट निष्कासनमा परेका १५० जनाभन्दा बढी विद्यार्थीहरु विश्वविद्यालय फर्किएका छन्। नेपाली विद्यार्थी प्रकृति लम्साल उक्त विश्वविद्यालयको होस्टेलमा मृत भेटिएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले घटनाको अनुसन्धानको माग गर्दा निष्कासन गरिएको थियो।
घटनाले उग्ररुप लिएपछि दिल्लीस्थित नेपाली दूतावासबाट उडिसा पुगेका कान्सुलर प्रहरी वरिष्ठ उपरीक्षक सञ्जीव शर्माले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी आउने क्रम जारी रहेको बताए। उनले भने, ‘अहिले अवस्था सामान्य रहेको छ। कलेजले विद्यार्थीको माग सम्बोधन गर्दै घटनामा मुछिएका व्यक्तिलाई कारबाही गरिसकेपछि कलेजमा सहज वातावरण बनेको छ। मंगलबार हामीले ६० जना विद्यार्थीलाई भेटेका थियौँ। आज कलेजमा १ सय ५० बढी नेपाली विद्यार्थी पुगिसक्नु भएको छ। विद्यार्थीको अध्ययन पूरा गर्न कलेजले वातावरण बनाउने बताएको छ। यहाँको सरकारले समेत प्रतिबद्धता जनाएको छ।’
यस्तै, केही विद्यार्थी भने नेपाल फर्किरहेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार बिहीबारसम्म ८३ जना विद्यार्थी आइसकेका छन्। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘बुधबारसम्म ७५ जना विद्यार्थी आउनुभएको थियो। उहाँहरु घर फर्किनु भइसको छ। त्यसैगरी आज थप ८ जना विद्यार्थी आउनुभएको छ। निकालिएका विद्यार्थीहरु विराटनगर आउने क्रम जारी रहेको छ।’
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार कुटपिट गरी निकालिएपछि आफूहरु घर फर्किएको उनीहरुले बताएका छन्। यसक्रममा मोरङका ४१, सुनसरीका १५, सप्तरीका १४, काठमाडौँ र सिरहाका समान ३, सर्लाही, धनुषाका समान २, ललितपुर, झापा र उदयपुरका १–१ जना विद्यार्थी घर फर्किएका हुन्।
प्रतिक्रिया