गौतमबुद्ध क्रिकेट रंगशालामा मैदान र पिचको काम हुदैछ धमाधम

गौतमबुद्ध क्रिकेट रंगशालामा मैदान र पिचको काम हुदैछ धमाधम


चितवन । चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान तथा पिचको काम सुरु हुने भएको छ । रंगशाला निर्माणको ठेक्का पाएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले बंगलादेशी क्यूरेटसमेत ल्याएर मैदानसहित पिचको काम सुरु गर्न लागेको हो । अहिले भएको मैदानको भागको माटो निकालेर चाँडै पानी सोस्ने र मैदान हिलो नहुने गरी पाइपहरु बिछ्याउने तयारी छ ।

‘माथि पानी सोस्ने खालको माटो राख्ने गरी डिजाइन गरिएको छ, सोही अनुसार ठेकदार कम्पनीले मैदानको काम अगाडि बढाउने छ,’ भरतपुर महानगरपालिकाका सिनियर डिभिजन इन्जिनियर सन्तोष आचार्यले भने । मैदानसँगै पिचको काम पनि सँगसँगै अगाडि बढ्ने उनको भनाइ छ । मैदानमा ५ वटा पिचहरु तयार गरिने छन् । गत असार २३ गते ठेक्का सम्झौता भएर काम थालिएको क्रिकेट रंगशालाको हालसम्म १५ प्रतिशत भन्दा बढी काम सकिएको छ । ठेकदार कम्पनीले अहिले दुईवटा भीआईपी टावरसहितको ड्रेसिङ रुमहरूको लागि फाउण्डेशन तयार गरिरहेको छ । यस्तै दुवै प्याराफिटमा समेत काम सँगसँगै अगाडि बढिरहेको छ । सुरुमा धुर्मुस–सुन्तली फाउन्डेसनले नेतृत्व लिएर बनाउन थालेको रंगशाला बजेटको अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट झण्डै २ वर्ष रोकिएको थियो

त्यसपछि बाँकी कामको स्वामित्व भरतपुर महानगरपालिकाले लिएको थियो । संघ, प्रदेश र महानगर आफैंलेसमेत लगानी गर्ने गरी २०८१ साउनबाट रंगशालाको काम ठेक्कामार्फत अगाडि बढेको हो । ७८ करोड रूपैयाँमा बनाइसक्ने गर्ने गरी ठेक्का लगाएर पहिलो चरणको काम थालेको रंगशालामा अहिले दैनिक २ सयभन्दा बढी कामदारले नियमित काम गरिरहेका छन् । ठेकदार कम्पनीले सिमेन्टको समस्याका कारणले अझै सोचे जति प्रगति गर्न नसकेको जनाएको छ । रंगशालाको पहिलो चरणमा दस हजार जना दर्शक अट्ने प्यारापिट तयार हुनेछ । यसअघि, धुर्मुस–सुन्तली फाउण्डेशनले ३ हजार जना अट्ने प्याराफिटको संरचना तयार गरिसकेको थियो । साथै उसले २८६ वटा पिलर पनि उठाइसकेको थियो । महानगरका इन्जिनियर आचार्यका अनुुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण गरिने छ । २ वटा ३र३ तलाका भीआईपी टावर पनि बनाइने छ ।

एउटामा भीआईपी र खेलाडीहरु रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । इन्जिनियर आचार्यका अनुसार अहिले पश्चिमतर्फको प्याराफिटको ढलान गर्न फर्मा लगाउने काम भैरहेको छ । ढलान सकिँदा फागुन महिनाभित्र नै प्रगति २० प्रतिशत पुग्ने आचार्यले जानकारी दिए । उनले चैत महिनासम्म टावर १ र २ दुवैको पहिलो तलाको ढलान हुने विश्वास व्यक्त गरे । ३० महिना भित्र निर्माण सक्ने गरी भएको ठेक्का सम्झौता अनुसार अब २२ महिना बाँकी छ । बर्खायाममा स्ट्रक्चर भित्र बसेर काम गर्न मिल्ने गरी संरचनाहरू तयार गरिने महानगरका इन्जिनियर आचार्यले जानकारी दिए ।