काठमाडौं – शुक्रबार बिहानका राति काठमाडौंको साँखुस्थित सलम्बुटारको एउटा सामाजिक संस्थाले बनाएको टहरामा १० जना सुतिरहेका थिए । ३ बजेर ४० मिनेटको समयमा शंखरापुर नगरपालिका-६ मा पर्ने उक्त संस्थाले बनाएको टहरामा अनियन्त्रित भएर पसेको टिपरले तीन जनाको ज्यान लियो।
बा २ क ६५८० नम्बरको अनियन्त्रित टिपर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किन पुगेको हो ।
साँखु प्रहरी प्रभागले दिएको विवरण अनुसार टहरामा सुतिरहेका १० जनामध्ये तीन जनाको मृत्यु भएको हो । सबै विवरण खुल्न नसकेका २१/२१ वर्षीय आकाश र सुमनसँगै ४५ वर्षीय हरिजनले सुतेकै ठाउँमा ज्यान गुमाएका हुन् ।
दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि तत्काल नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको हो । मृतक तीनै जनालाई संस्थाले पालनपोषण गर्दै आएको थियो ।
अन्य सात जनाको अवस्था भने सामान्य छ । उनीहरु ठुलो दुर्घटनाबाट बचेका छन् । दुर्घटनाग्रस्त टिपर सिन्धुपाल्चोक मेलम्ची नगरपालिका१२ का २५ वर्षीय सागर माझीले चलाएको खुलेको छ ।
प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । चालक माझीलाई अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ भने टिपर प्रहरी वृत्त गौशालाको नियन्त्रणमा छ।
प्रतिक्रिया