अरुले पूर्वराजा भन्छन्, म राजा नै भन्छु : शेखर कोइराला

अरुले पूर्वराजा भन्छन्, म राजा नै भन्छु : शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले जनतालाई खुसी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरू प्रदर्शनमा उत्रिएको टिप्पणी गरेका छन् ।शुक्रबार झापाको बिर्तामोडमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले ‘राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभइ फ्रान्स लगायतका देशहरूमा पनि हुने गरेको’ बताए ।साथै, उनले नागरिकहरू असन्तुष्ट हुँदा प्रदर्शन भइरहेको, गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो कि सकेन भन्ने कुरामा ध्यान दिनुपर्ने बताए ।

‘अरुले पूर्वराजा भन्छन् म राजा नै भन्छु । किनभने कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ । राजाको कुरा हेर्दा हरेक देशमा चलिरहेको हुन्छ,’ कोइरालाले भने, ‘आज पनि फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ । चिया पसलमा राजा फर्काउनुपर्छ भन्ने गफ हुन्छ । यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको हुन्छ ।उनले आफूलाई राजतन्त्र फर्कन्छ भन्ने कुराको विश्वास नभएको जिकिर गरे । गणतन्त्रका रक्षकहरूले राम्रो काम गरेर देखाउनुपर्ने उनको भनाइ थियो ।

‘राजाको बारेमा कुरा गरेर मात्रै हुँदैन । जनतालाई कतिको खुसी पार्न सकेका छौँ भन्ने हो । गणतन्त्र ल्यायौँ । त्यसले आशा, भरोसा जगाउन सकेका छौँ की छैनौँ भन्ने हो । राजा फर्किन्छ त भन्नुभयो, मलाई लाग्दैन । माईखोलामा धेरै पानी बगिसक्यो मलाई लाग्दैन । हामीले राम्रो काम गरेर देखाउने हो,’ कोइरालाले भने ।