पोखरा । पोखराको लेकसाइडमा हुने भनिएको कोटीहोमको विवादलाई लिएर शुक्रबार महाननगर प्रहरी र कोटीहोम आयोजकका बिचमा तनावपूर्ण स्थिति बन्यो । दुई पक्ष झडपमा उत्रिए । धार्मिक कार्यक्रमले एकाएक हिंसात्मक अवस्था सिर्जना गर्यो । सरसर्ती हेर्दा यो घटनाको पूर्वआकलन भएकै थियो । किनकि, कोटीहोम आयोजकले पत्रकार सम्मेलनमार्फत जुनसुकै हालतमा कोटीहोम गरेर फर्कने घोषणा गरिरहँदा पोखरा महानगरपालिकाले चाहिँ कुनै हालतमा कोटीहोम गर्न नदिने निर्णय गरेको थियो । पटक पटकको मुठभेडमा ११ जना नगर प्रहरी र आयोजकतर्फ १५ जना घाइते भए । केहीको अवस्था गम्भीर छ ।
अन्तर्य जेसुकै भए पनि शुक्रबारको घटनालाई मानव सेवा फाउण्डेसनका संस्थापक विजय भण्डारी र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रतिष्ठाको लडाइँसँग जोड्न सकिन्छ । जे होस्, दुवै पक्षको हठले निम्त्याएको दुर्घटना हो, जहाँ प्रशासनचाहिँ मुकदर्शक बनेर बस्यो । नगर प्रहरी र कोटीहोम आयोजकको बिचमा थियो नेपाल प्रहरी । प्रहरीले चाहेको भए गेट बन्द गरेर स्थिति नियन्त्रणमा लिन सक्थ्यो । घटनाको पूर्वआकलन भइसक्दा पनि कास्की प्रशासनले समन्वय गर्न सकेन, नियन्त्रणमा लिन सकेन । जसका कारण भ्रमण वर्ष घोषणा गरेर विश्वभरका पर्यटक डाकिरहेको पोखराको प्रमुख गन्तव्य स्थल लेकसाइड रक्ताम्मे बन्यो, त्यो पनि धार्मिक कार्यक्रममा ।
शुक्रबार के भयो ?
पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार कोटीहोमको भूमिपुजन गर्ने समय बिहान १० बजेर २१ मिनेटलाई तोकियो । सोही अनुसार मानव सेवा फाउण्डेसनले आफ्ना अनुयायीहरूलाई खबर पठायो । बिहानैदेखि बाराहीघाटमा भूमिपुजनको कर्म सुरु भयो । महानगरले ९ बजेतिर पूजा सुरु भएको जानकारी पायो । त्यसपछि लौरोसहित नगर प्रहरी खटाइए । निर्देशन थियो, ‘पूजास्थलबाट पूजा गरिरहेको सामग्री जफत गर्नू ।’ नगर प्रहरी सरासर पूजास्थल पुगेर सामान जफत गर्न लाग्यो । आयोजक टोलीले प्रतिवाद गरे । नगर प्रहरी गेटबाहिर निस्क्यो । पटकपटक उनीहरूबिच धकेलाधकेल भइरहेको थियो ।
साढे १० बजेतिर पूजा सकियो । आयोजक टोली पूजास्थलबाट बाहिरिन खोज्यो । उनीहरूको गाडी गेटसम्म आएपछि नगरप्रहरीले रोक्यो र पहिला आफूहरूको गाडी बाहिर ल्याउने सर्त राख्यो । नगर प्रहरी गाडीतिर गयो । आयोजकले रोक्न हरतरहको प्रयास गरे । प्रहरी गाडी नजिक पुग्नै लाग्दा गेटमा रहेका नगर प्रहरीमाथि आयोजकले आक्रमण गरेर रक्ताम्मे बनाइदिए ।
त्यसपछि स्थिति तनावपूर्ण बन्यो । नगर प्रहरी आयोजकमाथि जाइलाग्यो । आयोजक पनि ढुंगा र रड लिएर नगर प्रहरीमाथि आक्रमणमा उत्रिरहे । अन्ततः फूल बर्सिनुपर्ने कार्यक्रममा ढुंगा र रड बर्सिए । भूमिपूजा स्थल रक्ताम्मे बन्यो । बैदाम प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाको कमाण्डमा खटिएको टोली ‘हेरेको हे¥यै’ भयो ।
प्रतिक्रिया