काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा प्रश्न पत्र र उत्तर पुस्तिका वितरण भई विद्यार्थीले लेख्दालेख्दै परीक्षा स्थगित भएको छ । आइतबार बिहान साढे ६ बजेबाट सुरु भएको परीक्षा सम्पन्न नहुँदै स्थगन भएको हो ।
‘ग्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स’अन्तर्गत स्नातक तह प्रथम र सातौँ समेष्टरको परीक्षा एक्कासी स्थगित गरिएको हो । एमयूमा चैत १८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । सोही निर्वाचनलाई कारण देखाउँदै परीक्षा चलिरहेकै बेलामा स्थगन गरेको हो ।
आफूहरूलाई पूर्वजानकारी बिना परीक्षा स्थगन गरिनु विश्वविद्यालयको गम्भीर त्रुटि भएको विद्यार्थीको गुनासो छ । मध्यपश्चिम विश्वविद्यालय ‘ग्राजुयट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स’अन्तर्गत सञ्चालित सम्पूर्ण केन्द्रीय विभागका विभागीय प्रमुखहरूको आइतबार बिहान बसेको संयुक्त विभागीय बैठकले परीक्षा स्थगन गरेको जनाएको छ ।
‘‘स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको पत्रानुसार चैत्र ३ गतेदेखि हुने भनिएको स्नातक तह प्रथम र सातौँ सेमेस्टरको मध्यवर्ती परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विश्वविद्यालयले जारी गरेको सूचनामा भनिएको छ ।


प्रतिक्रिया