प्रजातन्त्र नमासीकन राष्ट्रपतिको ठाउँमा राजा ल्याउने ज्ञानेन्द्र शाहीको उद्घोष

प्रजातन्त्र नमासीकन राष्ट्रपतिको ठाउँमा राजा ल्याउने ज्ञानेन्द्र शाहीको उद्घोष


आज प्रतिनिधि सभा बैठकमा एमाले सांसद रघुजी पन्तले नेपालका राजतन्त्रको बदख्वाइँ गरेपछि शाहीले उठेर प्रतिवाद गर्न खोजेका थिए । तर, सभामुखले उनलाई अनुमति दिएनन् । त्यसपछि आफ्नो पालोमा शाहीले गणतन्त्रको बदख्वाइँ गरेका छन् ।

रघुजीलाई कटाक्ष गर्दै शाहीले भने, ‘केही साथीहरू यही व्यवस्था राख्नुपर्छ भन्दै उफ्रिरहनु भएको छ । यो स्वभाविक पनि हो । यो यस्तो व्यवस्था हो, जहाँ चुनाव हारेर पनि सांसद, मन्त्री प्रधानमन्त्री हुन पाइन्छ । यो व्यवस्था आएको १६ वर्षमा १४ पटक सरकार परिवर्तन भए, १ हजार मन्त्री भए, ३ हजार सांसद भए । सबै मिलेर खान पाएपछि यही व्यवस्था उत्तम हो भन्नु स्वभाविक हो ।’

शाहीले अहिले व्यवस्थाको पक्षमा बोल्ने अधिकांश गणतन्त्रवादी नेताका छोराछोरी युरोप अमेरिकामा रहेको बताए ।

उनले थपे, ‘यिनीहरूका छोराछोरी युरोप(अमेरिकामा पढिरहेका छन्, गरिब-दुखीका छोराछोरी दुबई र खाडीमा बेल्चा हानिरहेका छन् । यो १६ वर्षमा १४ हजार नेपाली रातो बाकसमा फर्किए । देशको ऋण २६ खर्ब पुग्यो । कर्मचारी, नेता, सांसद, मुख्यमन्त्री, मन्त्री सबै पाल्दापाल्दै १ वर्षमा १५ खर्ब खर्च हुन्छ । यसैका लागि यो व्यवस्था जोगाउन खोजिएको हो । यो व्यवस्था जनतालाई चाहिएको होइन ।’

‘माननीयज्यूले हत्याराको कुरा गर्नुभयो । मदन भण्डारीको हत्या कसले गर्‍यो ? त्यही पार्टीका प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई छानबिन गर्न कसले रोकेको छ ? साथीहरूले काण्डको कुरा गर्नुहुन्छ । म काण्ड सम्झाइदिऊँ ? निर्मला पन्तको बलात्कारपछि हत्या भयो । यत्रा गृहमन्त्री भए, एक जना निर्मलाको हत्यारा पत्ता लगाउन सक्या छौँ ? बाँदर मुढे घटना याद छ ? लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्यारा यही संसदमा छन् । खुलामञ्चमा उभिएर बसेर ५ हजार मान्छे मारेको हुँ भन्ने व्यक्ति प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो यो । आज कति छ जनतामाथि कर ? तीन सय वटा कर लगाइएको छ । पैतृक सम्पत्तिमा समेत लाभकर लगाउन थालेका छन् ।’

शाहीले राजतन्त्रमा सबै मानिसहरू अटाउने र प्रजातन्त्र नमासिने उल्लेख गरे । उनले भने, ‘प्रजातन्त्र, लोकतन्त्र केही पनि मासिँदैन । राष्ट्रपतिको ठाउँमा राजा राखिन्छ । जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाइन्छ । यसमा खुल्लमखुल्ला बहस गर्न तयार छौँ ।’