सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको भौतिक प्रगति हेर्दा २०८३ चैतमा निर्माण सम्पन्न हुने

सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको भौतिक प्रगति हेर्दा २०८३ चैतमा निर्माण सम्पन्न हुने


पाल्पा। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको भौतिक प्रगति ४५.५८ प्रतिशत पुगेको छ । आयोजना कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार वित्तीय प्रगति ४३.०८ प्रतिशत रहेको छ । आयोजनाअन्तर्गत २ लेनको मुख्य सुरुङमार्ग १ हजार ८९ मिटर लम्बाइको निर्माण गरिएको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए ।

यसको मुख्य सुरुङमार्गको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहनेछ । लाइनिङसहित यो सुरुङमार्गको कुल लम्बाइ १ हजार १२६ मिटर हुनेछ । यसमध्ये उत्तरतर्फ मुख्य सुरुङको इन्भर्टको काम २ सय ५० मिटर भइसकेको छ । दक्षिणतर्फ ३ सय २० मिटर काम गरी कुल ५७०।४ मिटर इन्भर्टको काम सकिएको आयोजना कार्यालयले जनाएको हो । मुख्य सुरुङमा लाइनिङको काम भने उत्तरतर्फ ९० मिटर र दक्षिणतर्फ १६० मिटर गरी २ सय ५० मिटर लाइनिङको काम सकिएको छ । यस्तै तीनवटै बाइपास ब्रेकथ्रु भए पनि यसको इन्भर्ट, लाइनिङको काम सुरु भएको छैन ।

स्लोप प्रोटेक्सनको दक्षिणतर्फ २ हजार ३०० मध्ये १४९५, उत्तरतर्फ ११०० मध्ये ४९५, एमआरवन माउन्टेन साइड ९६२० मध्ये ४८१, एमआरटु माउन्टेन साइट ७४४० मध्ये १४१४ स्क्वायर मिटर काम भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार समयभित्र निर्माण व्यवसायीले काम गर्दा पनि सवारी गुडाउन अझै एक वर्ष अझै लाग्नेछ । सुरुङमार्गमा सवारी साधन गुडिरहेका बेला आपातकालीन अवस्थामा यात्रुलाई उद्धार गर्न १५१ मिटरको पहिलो बाइपास, १६१ मिटरको दोस्रो बाइपास र १३० मिटर दूरीको तेस्रो बाइपास पनि निर्माण गरिएको छ । बाहिरतर्फ अहिलेको सडक भत्काएर गर्नुपर्ने भएकाले यातायात मुख्य सुरुङबाट सञ्चालन गर्नुपर्ने प्रमुख अधिकारीले बताए । लाइनिङ, भेन्टिलेसनको काम भने अझै बाँकी छ । भित्तामा कङ्क्रिटिङ गर्ने, वाटर प्रुफिङ, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, लाइटिङ, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम गर्न बाँकी रहेको सूचना अधिकारी सविता ज्ञवालीले बताइन् ।

यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टी हेलिप्याडसमेत निर्माण गर्ने तयारी छ । यो आयोजना २०७८ फागुनमा ५ वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा बनाउने ठेक्का सम्झौता गरेको छ । ठेक्का सर्तअनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात् २०८३ चैत ८ गते निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । सुरुङमार्ग सम्पन्न हुँदा लुम्बिनी र गण्डकी प्रदेशका पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङ, मुस्ताङ लगायतका क्षेत्रका बासिन्दाले सुरक्षित यात्रा गर्न पाउनेछन् ।