दैनिक जीवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत पानीको महत्त्व छ : मन्त्री खड्का

दैनिक जीवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत पानीको महत्त्व छ : मन्त्री खड्का


काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत भएको मुलुक मध्येको नेपाल पनि एक भएकाले पानीको संरक्षणमा लाग्नु आजको आवश्यकता रहेको बताएका छन्।

शनिबार ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ मा बोल्दै मन्त्री खड्काले पानीको सही सदुपयोग र सही उपयोग गर्न सके दैनिक जीवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुर्‍याउने बताएका हुन्।

उनले भने, ‘पानी बिना जीवन एकछिन कल्पना गर्न पनि हामीलाई गाहे छ। सबैभन्दा बढी पानी अर्थात् जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भनेर यसको उपयोग गर्दैगर्दा हामी महसुस गर्न सक्छौं। यसरी तुलनात्मक ढंगले यसलाई हेरेर यसको संरक्षणमा लाग्नु आजको आवश्यकता हो।

यसलाई सही सदुपयोग र उपयोग गर्नु आजको आवश्यकता हो। दैनिक जीवनमा मात्रै होइन मुलुकको आर्थिक समृद्धिका लागि पनि यो पानी अर्थात् जलस्रोत अत्यन्तै उपयोगी छ। खासगरी नेपालका लागि क्रान्तिकारी आर्थिक समृद्धिको लागि पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, मुलुकले लक्ष्य लिएर अगाडि बढिरहेको छ। ’

साथै उनले पानीको संरक्षण सँगसँगै पानीबाट सृजित चुनौतीहरूको व्यवस्थापन गर्नुपर्ने बताए। उनले हिमालहरूको अवस्था, हिमनदीहरूको अवस्था र त्यसबाट सृजित समस्याहरूको समाधानका लागि नेपाल सरकार गम्भीर रूपले लागिरहेको समेत बताए।