काठमाडौं -दक्षिण कोरियाको संसदले महाभियोग लगाएको कार्यवाहक राष्ट्रपतिलाई अदालतले पुनर्बहाली गरिदिएको छ । राष्ट्रपति युन सुक योललाई महाभियोग लगाइएपछि त्यतिबेला प्रधानमन्त्री रहेका हान डक सू कार्यवाहक राष्ट्रपति बनेका थिए ।
सैनिक ‘कू’ को असफल प्रयास गरेका राष्ट्रपति युनको महाभियोग अदालतबाट अगाडि बढ्ने प्रक्रिया रोकेको भन्दै दक्षिण कोरियाली संसदले कार्यवाहक राष्ट्रपति बनेका हान डक सूलाई पनि महाभियोग लगाएको थियो । त्यसमा तीन महिनापछि निर्णय सुनाउँदै संवैधानिक अदालतले हान डक सुलाई कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
अदालतले पुनर्बहाली गरेपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेको भन्दै उनीहरूको प्रशंसा गरेका थिए । ‘बदलिँदो विश्व परिस्थितिकाबीच दक्षिण कोरियालाई विकासको बाटोमा निरन्तर लैजान अब हामी सँगै काम गर्नेछौं,’ उनले भने ।
सोमबार संवैधानिक इजलासका ८ मध्ये पाँच जना न्यायाधीशहरूले महाभियोगको प्रस्ताव वैध भएको तर कार्यवाहक जिम्मेवारीमा रहेका हानलाई महाभियोग लगाउनुपर्ने पर्याप्त आधार नरहेको निर्णय गरेका थिए । दुई न्यायाधीहरूले भने संसदको दुई तिहाइले पास नगरेका कारण महाभियोग प्रस्ताव नै अवैध रहेको बताएको रोयटर्सको समाचारमा उल्लेख छ । एक जना न्यायाधीशले भने हानलाई महाभियोग लगाउनु पर्ने पक्षमा मत दिएका थिए ।
बहुमत न्यायाधीशबाट महाभियोग प्रस्ताव अस्वीकृत भएपछि हानको कार्यवाहक राष्ट्रपतिको पद थमौती भएको हो । गत डिसेम्बरमा राष्ट्रपति युनले मुलुकमा शैनिक शासन लागू भएको घोषणा गरेका थिए । यद्यपि उनको घोषणालाई केही घन्टामै दक्षिण कोरियाली संसदले उल्ट्याएको थियो ।
त्यसपछि संसदले उनीमाथि महाभियोग लगाएको थियो । दक्षिण कोरियामा संसदले महाभियोग लगाएपछि सो प्रस्तावमा संवैधानिक अदालतले १८० दिनभित्र फैसला गर्छ । हान कार्यवाहक राष्ट्रपति बनेपछि संवैधानिक अदालतमा तीन जना न्यायाधीश नै थप नगरेको र संवैधानिक अदालतमा परीक्षण हुने बाटो रोकेको भनेर संसदले उनीमाथी नै महाभियोग लगाएको थियो । युनमाथिको महाभियोगबारे अब केही दिनमा अदालतले निर्णय गर्ने पनि रोयटर्सले जनाएको छ । अदालतले युनको महाभियोग प्रस्तावको पक्षमा फैसला गरे दक्षिण कोरियाले त्यसको ६० दिनभित्र निर्वाचन गराउनु पर्नेछ ।
प्रतिक्रिया