काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले रगत बगाएर कमाएको उपलब्धि भएको बताएका छन् । उनले शासनमा बसेर गल्ती गर्नेलाई दण्डित गर्ने अधिकार यो व्यवस्थाले नागरिकलाई दिएको पनि बताएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै उनले हरेक नागरिक यो व्यवस्थामा आफ्नो सार्वभौमसत्ताको मालिक भएको बताए ।
उनले भने, ‘शासन व्यवस्थालाई बलियो बनाउन र यो व्यवस्थाले नै जनताको भविष्य सुनिश्चित गर्छ भन्ने अनुभव गराउन सरकार, राजनीतिक दल र सबैको जिम्मेवारी छ ।’ उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताए । नेपाली जनताले संविधान बाहिरको निरंकुशता वा अराजकता स्वीकार नगर्ने उनको भनाइ थियो । उनले भने, ‘इतिहासले देखाउँछ, १०४ वर्षको राणा शासन होस्, ३० वर्षको पञ्चायत होस् वा सक्रिय राजतन्त्र, जनताले कुनै पनि निरंकुशता रुचाएनन् । संघीय लोकतान्त्रिक गणतन्त्र हामीले सजिलै पाएका होइनौं । यो हजारौंको त्याग, संघर्ष र बलिदानको फल हो ।’
राष्ट्रपति पौडेलले सभामुख हुँदा सोलुखुम्बु र पूर्वी पहाडका डाँडाकाँडामा पैदल हिँडेर जनतासँग भेटेको सम्झिए । उनले टिम्बुरबोटेको ओडारमा रुझ्दै र भिज्दै पुगेको भावुक अनुभव सुनाए । टिम्बुरबोटे २०४१ मा पञ्चायती सरकारले प्रजातान्त्रिक योद्धाहरूको हत्या गरेको ठाउँ हो । उनको गला अवरुद्ध भएको थियो । उनले युवाहरू विदेश पलायन हुने समस्या रोक्न शिक्षा, स्वास्थ्य, उद्योग, उत्पादन वृद्धि, रोजगारी र गाउँमै आम्दानीको व्यवस्था गर्न जनता केन्द्रित नीति र बजेट चाहिने बताए । विगतका गल्तीबाट सिकेर समृद्ध राष्ट्र बनाउन सबैलाई लाग्न आग्रह गरे ।
उनले संघीयता लागू गर्न तीन तहको सरकार सक्रिय भएको र यो व्यवस्थाले सिंहदरबारको अधिकार गाउँसम्म पुर्याएको बताएका छन् । उनले भने, ‘यसलाई सफल बनाउन संविधानको भावनाअनुसार स्थानीय सरकारले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ ।’ कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार र उद्योग मुलुक विकासको आधार भएको उनको भनाइ थियो । सोलु र दूधकोशी नदी क्षेत्रका जलविद्युत आयोजनाले आर्थिक विकासमा योगदान गर्ने उनले विश्वास व्यक्त गरे।
उनले भने, ‘सगरमाथा क्षेत्रको हिमाल आरोहण, पदयात्रा र साहसिक गतिविधिले पर्यटन र अर्थतन्त्रमा ठूलो योगदान गरेको छ ।’ राष्ट्रपति पौडेलले सगरमाथाको काख अब टाढा नभएकोमा खुशी व्यक्त गरे । अपर सगरमाथा मार्ग निर्माणमा आफ्नो संघर्षको स्मरण गर्दै उनले डोल्पाको दुनैदेखि पूर्वी पहाडसम्म सडक पुगेको बताए । उनले भने, ‘हिजो नुन र तेलका लागि भारी बोकेर हिँड्नु पथ्र्यो, आज त्यो अवस्था बहुदलीय लोकतन्त्रले हटायो । यो परिवर्तन हामीले बिर्सनु हुँदैन ।’
प्रतिक्रिया