लोकतान्त्रिक अपाङ संघको पहिलो महाधिवेशनमा थापाको अध्यक्षतामा समानान्तर समिति गठन

लोकतान्त्रिक अपाङ संघको पहिलो महाधिवेशनमा थापाको अध्यक्षतामा समानान्तर समिति गठन


काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ समानान्तर समिति गठन गरिएको छ । पहिलो महाधिवेशनबाट निर्वाचित समिति आएकै दिन अर्को पक्षले समानान्तर समिति गठन गरेको हो । २०६३ सालमा गठन भएको राष्ट्रिय लोकतान्त्रिक अपाङ संघले स्थापनाको १८ वर्षपछि पहिलो महाधिवेशन गरे विवादरहित निर्वाचित समिति ल्याउन सकेन । नेता डा।शेखर कोइराला पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएका विकास थापाले निर्वाचित समितिलाई अमान्य भन्दै अर्को समिति बनाएका हुन् । शुक्रबार र शनिबार भएको पहिलो महाधिवेशनबाट माधव चम्लागाईं अध्यक्ष भएको सोमबार मतगणनाबाट सार्वजनिक गरिएको थियो । निर्वाचिन प्रक्रियाप्रति आपत्ति जनाउँदै अध्यक्षका प्रत्यासी थापा र खड्काले सोमबार साँझ पत्रकार सम्मेलन गरेर समानान्तर समिति घोषणा गरेका हुन् । समानान्तर समिति गठन क्रममा केन्द्रीय सदस्य डा गोविन्द पोखरेल, गुरुराज घिमिरे लगायतका नेताहरूलाई बोलाइएको थियो । समानान्तर समितिमा अध्यक्ष नेता डा। कोइराला निकट थापालाई बनाइएको छ भने अध्यक्षको उम्मेदवार खड्काले पनि थापालाई नै समर्थन गरेकी छिन् । खड्का पार्टी प्रवक्ता डा प्रकाशशरण महत नजिक छन् ।

थापा पक्षको समानान्तर समितिमा उपाध्यक्षमा टेकप्रसाद आचार्य र उमादेवी घिमिरे बनेका छन् । महामन्त्री पदमा अश्विन लम्साल र विकास चिल्वाललाई बनाइएको छ । चम्लागाईं पक्षबाट उपाध्यक्षमा अनिता घिमिरे गैरे, उदयबहादुर लिम्बु, महामन्त्रीमा किरणकुमार पासवान र गणेशबहादुर खत्री । महाधिवेशनका लागि चयन भएका ८९२ प्रतिनिधिबाट ४७० मत खसेको थियो । विधान अनुसार लोकतान्त्रिक अपाङ्ग संघमा ५१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । ३९ जना निर्वाचित र १२ जना मनोनीत हुने विधानको व्यवस्था छ । महाधिवेशनका केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहनेगरी ३ सदस्यीय निर्देशन समिति गठन गरेको थियो ।