त्रिचन्द्रको स्ववियु निर्वाचन आज, अध्यक्षमा ९ प्रतिस्पर्धी

त्रिचन्द्रको स्ववियु निर्वाचन आज, अध्यक्षमा ९ प्रतिस्पर्धी


काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ । यसअघि ५ चैतका लागि तोकिएको स्ववियु निर्वाचन अन्तिम समयमा स्थगित भएपछि आज हुन लागेको हो । नेविसंघका विवेक बानियाँ र श्रीधर श्रेष्ठ समूहले मूल गेटमै तालाबन्दी गरेपछि निर्वाचन समितिका संयोजक डा. अंगद गौतमले चैत ४ गते निर्वाचन स्थगित को सूचना जारी गरेका थिए । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको आधारमा राख्ने भन्नेमा विवाद भएपछि तालाबन्दी भएको थियो । तर डा. गौतमले नै चैत ११ गते अर्को सूचना जारी गरी चैत १३ गते बिहान ८ बजेदेखि निर्वाचन हुने जनाएका थिए ।

त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा विभिन्न संघसंगठन र स्वतन्त्र गरी ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेविसंघका गोविन्द कोइराला, अनेरास्ववियुका प्रमित विष्ट र अखिल (क्रान्तिकारी)का प्रदिप भट्ट उम्मेदवार छन् । यसैगरी अखिल क्रान्तिकारीकै मुना पौडेल, नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघका विवेक बानिया, नेपाल क्रान्तिकारी विद्यार्थी संघकी जेनिशा तिमिल्सेना, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अश्विन नेपाल पनि अध्यक्ष पदको प्रतिस्पर्धामा छन् ।

श्रीधर श्रेष्ठ र सागर न्यौपानेले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । सचिवमा ७ जना, कोषाध्यक्षमा ६ जना, प्रत्यक्षतर्फको सदस्यको लागि २९ जना र समानुपातिकतर्फको सदस्यका लागि २४ जना उम्मेदवार रहेको निर्वाचन समितिले जनाएको छ ।