शान्ति सम्झौताका बाँकी काम पूरा गर्न सरकार प्रयत्नशील छ : देउवा

शान्ति सम्झौताका बाँकी काम पूरा गर्न सरकार प्रयत्नशील छ : देउवा


काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताएका छन् । बिहीवार जवाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित संगठनहरूद्वारा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले संक्रमणकालीन न्यायका लागि नै सरकारले हालै मात्र सत्य निरुपण तथा मेलमिलाप तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको बताएका छन् ।
उनले अब छिट्टै नै यी आयोगहरूले पूर्णता पाउने दाबी समेत गरे । उनले आयोगले शान्ति सम्झौताका मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान गरेर न्याय दिलाउने विश्वास व्यक्त गरे । उनले वर्तमान सरकार र राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट समेत बताए ।

‘वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको छ । संक्रमणकालीन न्यायका लागि नै सरकारले भर्खरै सत्य निरुपण तथा मेलमिलाप तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । अब छिट्टै नै यी आयोगहरूले पूर्णता पाउने छन्,’ देउवाले भने, ‘आयोगले शान्ति सम्झौताका मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान गरेर न्याय दिलाउने नै छ ।’ उनले सशस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय दिलाउने विषयमा वर्तमान सरकार र राजनीतिक दलहरू स्पष्ट र प्रतिबद्ध रहेको बताए ।