विपक्षीप्रति प्रधानमन्त्रीको आक्रोश- नचाहिएको विषयमा अत्तो थापेर सदन अवरोध गरियो

विपक्षीप्रति प्रधानमन्त्रीको आक्रोश- नचाहिएको विषयमा अत्तो थापेर सदन अवरोध गरियो


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गरेको संसद अवरोधप्रति आक्रोश व्यक्त गरेका छन्।

महिला उद्यमी मेलाको उद्घाटन गर्दै उनले कर्मचारी हटाउँदा के–के न पाए जस्तो गरेर विरोध गरेको तर्क गरे ।प्रधानमन्त्री ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको भन्दै असन्तुष्टि पोखेका छन् ।

उनले भने, ‘अहिले विषया न शिषय सदन अवरुद्ध, के भयो रे भन्दा कर्मचारी सरुवा भयो कि, हटाइयो कि सरुवा भयो कि ? हिजो निकालिएका मान्छेलाई त्यहाँ राख्दा विरोध गरिरहेका छन्, न्यायका कुरा गर्छन् ।’ अध्यादेशहरू १८ गतेभित्र राष्ट्रपतिबाट हस्ताक्षर नभए कानूनविहीनतामा देश फस्ने उनले बताएका छन् ।

उनले भने, ‘अहिले अदालतलाई दबाब दिनकै लागि के–के न भयो भनेर एउटा कर्मचारी, एउटा नन इस्यूलाई इस्यू बनाएर झूटो प्रशंसा र झूटो गाली, गाली गर्नुपर्नेलाई प्रशांसा, प्रशंसा गर्नुपर्नेलाई गाली ।’ प्रधानमन्त्री ओलीले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङलाई लक्ष्मीप्रसाद देवकोटाले लेखेको उपन्यास ‘प्रमिथस’ जस्तो बनाएर व्याख्या गरिरहेको टिप्पणी गरेका छन् ।

देवकोटाको उपन्यासको सारांश सुनाउँदै एमाले अध्यक्ष समेत रहेका ओलीले स्वर्गबाट आगो लिएर पृथ्वीमा दिएबापत दण्ड गरिएको बताए । आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘यहाँ केही मान्छेहरूले प्रमिथस बनाएर एउटा कर्मचारीको व्याख्या गरेर कुदिरहेका छन् ।’

एउटा कर्मचारी हटाएको सामान्य विषयलाई ठूलो इस्यू बनाइएकोप्रति आपत्ति जनाउँदै ओलीले भने छन्, ‘अघिल्लो चार वर्ष पनि उहाँले त्यहीँ काम गर्नु भएको थियो । पछिल्लो पटक नियुक्त गरेको भोलिपल्ट उहाँले लाइटर बाले जस्तो झिलिक्क पारेर नेपाल झलल्ल पार्नुभयो ।’