काठमाडौँ । नेपाल पत्रकार महासंघले राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको आन्दोलनका क्रममा अराजक समूहले सञ्चार गृह र सञ्चारकर्मीमाथि गरेको आक्रमणप्रति कडा आपत्ति जनाएको छ। शुक्रबार काठमाडौँको तिनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा आगजनीको समाचार संकलन गर्ने क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घटनाले महासंघ स्तब्ध भएको बताएको छ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा प्रदर्शनकारी समूहले अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनी गरेको, कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा ढुंगामुढा गरेको र हिमालयन टेलिभिजनको सवारी साधनमा क्षति पुर्याएको उल्लेख छ। “सञ्चारकर्मीलाई आतंकित तुल्याउने र ज्यानै जाने गरी भएको यो हमला घोर आपत्तिजनक, निन्दनीय र भर्त्सनायोग्य छ,” विज्ञप्तिमा भनिएको छ।
“लोकतन्त्र र प्रेस विरोधी यस्ता क्रियाकलाप दोहोरिए महासंघ त्यसविरुद्ध कडा रूपमा उत्रन बाध्य हुनेछ,” विज्ञप्तिमा चेतावनी दिइएको छ। साथै, मृतक पत्रकार सुरेश रजकको निधनप्रति गहिरो दुख व्यक्त गर्दै महासंघले घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ। “मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ।
सम्बन्धित समाचार : राजावादीले आगो लगाएको घरभित्र जलेर मृत्यु हुनेमा एभिन्युजका पत्रकार
प्रतिक्रिया