बुटवल। बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिका क्रममा सडक किनारमा रहेका तीन सयभन्दा बढी वरपिपलका चौतारी (चौपारी) काटिएको छ । सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेका बेला पहिलो चरणमा सडक किनारमा रहेका करिब सात हजार रुख काटिएको छ भने त्यसमध्ये तीन सयभन्दा बढी वरपिपलका चौतारी कटानमा परेका छन् ।
बुटवल–गोरुसिङ्गे सडक आयोजना बुटवल प्रमुख कुशलता न्यौपानेले रुख र चौतारीको कटानको काम सकिएको र अब सडक किनारमा रहेका यात्रुका बनेको प्रतीक्षालयसमेत हटाउन सुरु भएको जानकारी दिनुभयो । सडक किनारका रुख, चौतारी र यात्रु प्रतीक्षालयसमेत हटाउँदा अहिले बुटवल–गोरुसिङ्गे सडकखण्ड उजाड देखिएको छ । वन तथा वातावरणविज्ञ युवराज कँडेलले बुटवलदेखि गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटर सडकखण्डमा करिब तीन सय वरपिपल र शमीका चौतारी काटिएको बताउँदै वातावरणका दृष्टिले चिन्ताजनक कुरा भएको बताउनुभयो । गर्मीमा वरपिपल र शमीको चौतारीमा बस्दा गर्मीको महसुस नहुने तथा स्थानीय ज्येष्ठ नागरिकलाई यी चौतारी दिन कटाउने माध्यम बनेका थियो ।
बुटवल–१७, तामनगरका स्थानेश्वर पौडेलले विकासका लागि सडक विस्तार हुनु खुसीको कुरा भए पनि सडक किनारका वरपिपलका चौतारी काटिएकामा निकै दुःख लागेको बताउनुभयो । उहाँले आफूहरू जस्ता धेरै ज्येष्ठ नागरिक यिनै वरपिपल र शमीका चौतारीमा बसेर दिन कटाउने गरेकोमा अब सबै काटिएपछि बसिबियाँलो गर्ने ठाउँसमेत नहुने कुराले पिरोलेको बताउनुभयो । वातावरणविज्ञ युवराज कँडेलले वरपिपल र शमीका चौतारी मासिँदा वातावरणमा असर पर्ने भन्दै सडकलाई बाधा नपर्ने गरी सडक छेउछाउमा रुखबिरुवा लगाउनुपर्ने बताउनुभयो । पण्डित पीताम्बर भुसालले हिन्दु धर्ममा वरपिपल र शमी हरेक मङ्गल कार्यमा आवश्यक पर्ने भन्दै जति काटिएको छ, त्योभन्दा धेरै लगाउन आग्रह गर्नुभयो । बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रमुख न्यौपानेले करिब सात हजार रुख कटान भएकाले अब एक रुख बराबर १० रुख रोप्न आयोजनाले वन विभागलाई करिब चार करोड रुपियाँ उपलब्ध गराइसकेको बताउनुभयो ।
तत्कालीन राजा महेन्द्र शाहको पालामा २०१९ सालमा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तारको काम भइरहेको हो । बुटवल–नारायणगढ सडकमा जस्तो जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले बुटवल–गोरुसिङ्गे खण्ड विस्तार गर्दा अहिलेको पिच नभत्काई गर्ने पूर्वतयारी छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो ।आयोजनाका अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५/२५ किलोमिटर गरी विस्तार गर्न लागिएको हो । पहिलो चरणका लागि सात अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि पाँच अर्ब ६६ करोड २२ लाख रुपियाँमा ठेक्का लागेको हो । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छ भने १४९ वटा कलभर्ट पनि निर्माण हुने छ । आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७.४ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ ।
प्रतिक्रिया