काठमाडौं– प्रमुख प्रतिपक्षी दललगायतले प्रतिनिधि सभाको अवरोध खुलाउन नमान्दा आइतबारको सदन बैठक अनिश्चित बनेको छ।
सदनका मुख्य दलका प्रमुख सचेतकसँग सभामुख देवराज घिमिरेले आइतबार गरेको बैठक सकिएको छ।
बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराए।
उनले संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारी दिए।
प्रधानमन्त्रीले आज नै सर्वदलीय बैठक बोलाएको पनि बर्तौलाले जानकारी दिए।
सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ।
विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ।
बैठकमा सभामुखले दुई दिनअघि भएको तिनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए।
उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपिल गरे।
अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनको भनाई छ।
प्रतिक्रिया