काठमाडौं । प्रहरीले खोजिरहेका राजावादी प्रदर्शनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंले भिडियो सन्देश जारी गर्दै सुरक्षाकर्मीहरुसँग क्षमा मागेका छन् । प्रसाईले आफ्नो महाअभियान फेसबुकमार्फत आइतबार (चैत १७) भिडियो सन्देश जारी गर्दै आफू प्रहरीबाट टाढा नभएको बताएका छन् ।
गएको शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राज्यले आफूलाई मार्ने उद्देश्यले हिंसा भड्काएको र दमन गरेको उनले आरोप लगाएका छन् । उनले त्यस दिन आफूलाई मार्ने षड्यन्त्र भएका कारण प्रहरीको सुरक्षा घेरा तोडेर भाग्नुपरेको दाबी गरेका छन् ।
उनले भनेका छन्, म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर सुरक्षित स्थानमा प्रवेश गरें । सुरक्षाकर्मीलाई म के भन्न चाहन्छु भने म तपाईंहरूप्रति कुनै लक्षित दुष्मनी होइन, तपाईंहरूको राज्यको संयन्त्र हो, तपाईंहरूलाई पुगेको चोटमा म क्षमा चाहन्छु । दुर्गा प्रसाईं तपाईंहरूबाट टाढा छैन । निजी घरको छतमा प्रहरी जाँदा अवस्था बिग्रेको उनको भनाइ छ । त्यस दिन तीनकुनेमा आफ्नो कानको छेउबाट गोली गएको उनले बताएका छन् । आफू हाल काठमाडौंको कुनै एक मन्दिरमा बसेको उनले जिकिर गरेका छन् । आफू नभागेको पनि उनले बताएका छन् ।
प्रतिक्रिया