विरोधकाबीच संसद् बैठक चलाउने तयारी

विरोधकाबीच संसद् बैठक चलाउने तयारी


काठमाडौं – प्रमुख प्रतिपक्षी दलहरूको विरोधकाबीच संसद् चलाउने तयारी गरिएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको छलफलपछि बैठक अवरोधकैबीच अघि बढाउने तयारी गरेका हुन् ।

संसद् सचिवालय स्रोतका अनुसार, आइतबार विपक्षीहरूको निरन्तर अवरोधपछि संसद् बैठक पटक पटक सरेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर समय सार्दै आइरहेको छ ।

आजमात्रै संसद् सचिवालयले तीनवटा सूचना जारी गरिसकेको छ ।

गत १३ चैतबाट अवरुद्ध बैठक नचल्दा संसदलाई अध्यादेश प्रतिस्थापन विधेयक पारित गराउन सकस हुने देखिएको छ ।

यही समस्या टार्न पनि प्रधानमन्त्री ओलीले संसद्मा अघि बढ्न सभामुखलाई निर्देशन दिएका हुन् ।

प्रतिपक्षी दलहरूले संसद्मा प्रधानमन्त्रीको जवाफ माग गरिरहेका छन् । विपक्षीहरूले भने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारण प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउनुपर्ने बताउँदै आएका छन् ।