ट्रम्पले नेपालमाथि पनि लगाए १० प्रतिशत रेसिप्रोकल ट्यारिफ

ट्रम्पले नेपालमाथि पनि लगाए १० प्रतिशत रेसिप्रोकल ट्यारिफ


अमेरिकाले लगाएको ट्यारिफ (अतिरिक्त भन्सार महसुल) बिहीबारदेखि कार्यान्वयनमा आएसँगै विश्वका कैयौँ मुलुक प्रभावित भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही मुलुकहरूमा सिधै ट्यारिफ लगाएका छन् भने केही मुलुकहरूमा रेसिप्रोकल ट्यारिफ लगाएका छन् । जुन सामानमा जुन देशले आयात कर लगाउँछ, त्यस सामानमा निर्यातकर्तामाथि सोहीअनुरुप लगाउने कर नै रेसिफ्रोकल ट्यारिफ हो । यसअनुसार अब अमेरिका निर्यात हुने नेपाली सामग्रीमा १० प्रतिशतको कर अमेरिकाले लगाउनेछ । यो कर लगाएसँगै नेपालको अमेरिकासँग व्यापार संकुचित हुने अवस्था आएको छ ।

त्यसो त अमेरिकाले अन्य मुलुकहरूमा उच्च ट्यारिफ लगाए पनि नेपालमाथि भने १० प्रतिशत मात्र लगाएको हो । यद्यपि अमेरिका नेपालको ठूलो व्यापारिक साझेदार होइन । तर, नेपाली घरेलु उत्पादनका सामग्री अमेरिका निर्यात हुँदै आएका थिए । ट्रम्पको यो ट्यारिफ युद्धले नेपालमाथि थप नकारात्मक असर पर्ने भएको हो ।

अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका अनुसार, सन् २०२४ मा नेपाल र अमेरिकाबीचको कुल वस्तु व्यापार २४१‍.४ मिलियन अमेरिकी डलर रहेको थियो । सोही वर्षमा, अमेरिकाबाट नेपालमा १२०.९ मिलियन डलरको वस्तुहरू निर्यात गरिएको थियो, जुन सन् २०२३ को तुलनामा ९१.९ प्रतिशतले वृद्धि भएको हो । यस्तै, नेपालबाट अमेरिकामा १२०.५ मिलियन डलरको वस्तुहरू निर्यात गरिएको थियो, जुन सन् २०२३ को तुलनामा १०.४ प्रतिशतले घटेको हो ।

द अब्जर्भेटरी अफ इकोनोमिक कम्प्लेक्सिटीका अनुसार, सन् २०२३ मा नेपालले अमेरिकामा १४० मिलियन डलरको वस्तुहरू निर्यात गरेको थियो, जसमा मुख्य रूपमा हातले बुनेका कार्पेट (५४.२ मिलियन अमेरिकी डलर), जनावरहरूको खाना (२४.५ मिलियन अमेरिकी डलर), र अन्य कपडा सामग्रीहरू (१०.३ मिलियन अमेरिकी डलर) थिए । सोही वर्षमा, अमेरिकाबाट नेपालले ५२.४ मिलियन डलरका वस्तुहरू आयात गरेको थियो, जसमा मुख्य रूपमा सोयाबिन (६.७८ मिलियन अमेरिकी डलर), सोयाबिन भोजन (६.४७ मिलियन अमेरिकी डलर), र कम्प्युटरहरू (५.७१ मिलियन अमेरिकी डलर) थिए ।