काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षामा विद्यार्थीहरूले प्राप्त गरेको अंक एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा प्रविष्टि गराउने काम थालेको छ । स्रोत केन्द्रहरूले उत्तर पुस्तिका डिकोडिङ् गरेर विभागमा पठाउन थालेपछि आजदेखि अंक प्रविष्टि थालिएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए । विभागले आउँदो हप्ता नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।
नतिजा प्रकाशन योजनाका विषयमा दाहाल भन्छन्, ‘३ दिनभित्र अंक प्रविष्टि सकिन्छ । आजको चौथो दिन प्रणालीमा भरिएका अंक र उत्तर पुस्तिकामा प्राप्त गरेको अंक रुजु गर्छौँ । यसपछि नतिजा प्रकाशन गर्छौँ ।’
महानगरभित्रका सामुदायिकतर्फ धार्मिक र वैकल्पिक विद्यालय समेत गरी ९६ र संस्थागततर्फ ४०८ वटा गरी जम्मा ५०४ विद्यालयका १८ हजार २९४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यसमा सामुदायिक विद्यालयबाट ५ हजार १७४ जना र संस्थागत विद्यालयबाट १३ हजार १२० जना विद्यार्थी छन् । लिंगका आधारमा हेर्दा ८ हजार १४५ जना छात्रा र १० हजार १४९ जना छात्र छन् । यसमा ५ वटा संस्थागत विद्यालयमा अध्ययन गर्ने १० जना विदेशी विद्यार्थीहरू पनि समावेश छन् ।
जगन्नाथ माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय गरी २ वटा विद्यालय भद्रगोल जेलभित्र छन् । यी विद्यालयबाट यस वर्ष क्रमशः २० जना र १२ जना गरी ३२ जना विद्यार्थी परीक्षामा सहभागी हुनुपर्नेमा जेलका १ जना विद्यार्थी कैदमुक्त भएपछि ३१ जना विद्यार्थी सहभागी भए । केन्द्रीय बहिरा माध्यमिक विद्यालयबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउन यस वर्षदेखि परीक्षा केन्द्र अध्ययन गरिरहेको विद्यालयबाट बाहिरका ५६ वटा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको थियो । केन्द्रीय वहिरा माध्यमिक विद्यालय र कारागारभित्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई आफ्नै विद्यालयबाट परीक्षा लिइएको थियो । विद्यार्थीको विशेष अवस्थालाई ध्यानमा यस्तो व्यवस्था गरिएको हो ।
यस्तै अटिजम, बौद्धिक अपांगता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरूले परीक्षा केन्द्रबाटै परीक्षा दिएका थिए ।
प्रतिक्रिया