नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव

नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव


काठमाडौँ- पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-१ स्थित नारायणी नदीबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले दुई जनाको शव निकालेको छ ।

ती शव स्थानीय १३ वर्षीया दीक्षा सुर्पेञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जाको रहेको प्रहरीले जनाएको छ ।

उनीहरू चैत २६ गते नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बुढाथोकीको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो ।

सो टोलीले स्वप्निलको शव ३५ फिट गहिराइबाट आज बिहान साढे ११ बजे र दीक्षाको शव ५० फिट गहिराइबाट दिउँसो साढे १२ बजे निकाल्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।