धर्म निरपेक्षलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गरिए देशमा आगो बल्ने कमल थापाको चेतावनी

धर्म निरपेक्षलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गरिए देशमा आगो बल्ने कमल थापाको चेतावनी


DPM and Minister for Energy Kamal Thapa speaks to media after a meeting of the Council of Ministers at Singha Durbar, Kathmandu, on Friday, November 24, 2017. Photo: RSS

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लाञ्छाना लगाउने कार्य गरेको बताएका छन् ।

बुधबार संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा आयोजना गरेको प्रतिबद्धता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

सरकार र गणतन्त्रवादी दलहरू राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयास गरेको उनको आरोप छ ।

उनले लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्ने गरी कमाएको सम्पत्ति र भ्रष्टाचारबाट गरेको आम्दानीलाई लुकाउनका लागि गणतन्त्रवादी दलहरू लागि परेको आरोप लगाए ।

राजतन्त्र पक्षधरहरूले यो समयमा सचेत भएर अगाडि बढ्न नसके आफूहरूको विचार सधैँका लागि समाप्त हुने भन्दै आफूहरूको आन्दोलनका कार्यक्रममा सहभागी हुन उनको अपिल छ ।

‘१५ चैतको घटनाबाट हामी कति पनि विचलित हुनुपर्ने जरुरत छैन । हतोत्साहित र निराश हुनुपर्ने जरुरी छैन । यो घटनाबाट पाठ सिकेर आन्दोलनलाई नयाँ ढंगबाट र नयाँ शिराबाट उठाउनुपर्दछ । अहिलेको सरकार र गणतन्त्र पक्षधर राजनीतिक दलका नेताहरूले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयास गरेका छन्,’ थापाले भने ।

उनले अगाडि भने, ‘१५ चैतको घटनासँग कुनै साइनो र सरोकार नै नभएको राजा ज्ञानेन्द्रलाई जुन ढंगबाट प्रधानमन्त्रीदेखि अन्य नेताहरूले लाञ्छना लगाउने काम गरे त्यो नेपाली जनतालाई स्वीकार्य छैन । जनताले बुझेका छन् कि लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्ने गरी कमाएको सम्पत्ति देश विदेशमा लुकाएर राखेको, भ्रष्टाचारबाट गरेको आम्दानीलाई लुकाउनको निमित्त यिनीहरूले यो प्रयास गरेका हुन् । यो सफल हुन दिने छैन ।’

केही राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको भन्दै उनले त्यो प्रयास सफल हुन नदिने बताए ।

सत्तामा आफ्नो वर्चस्व कायम गर्न र ब्रम्हलुटलाई सुरक्षित गर्न प्रमुख राजनीतिक दलहरू नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको उनको आरोप छ ।

‘सायद प्रधानमन्त्रीले संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न खोज्नुभएको आभास पाइन्छ । केही राजनीतिक दलहरूले आफ्नो वर्चस्वलाई कायम गर्न, आफ्नो ब्रम्हलुटलाई सुरक्षित गर्न संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लाग्नुभएको देखिन्छ । म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, प्रमुख राजनीतिक दलका नेताहरूले यो धृष्टता गर्नुभयो भने देशमा आगो बल्छ । त्यो आगोको पहिलो शिकार तपाईँहरू हुनुहुन्छ,’ उनले भने ।