विदेशी मुद्रा सञ्चिति २४ खर्ब नाघ्यो, चालु खाता र शोधनान्तर स्थिति पनि बलियो अवस्थामा

विदेशी मुद्रा सञ्चिति २४ खर्ब नाघ्यो, चालु खाता र शोधनान्तर स्थिति पनि बलियो अवस्थामा


काठमाडौं। आन्तरिक अर्थतन्त्र शिथिल हुँदा विदेशी विनिमय सञ्चितिले लगातार कीर्तिमान बनाएको छ। चालु आर्थिक वर्ष फागुन मसान्तसम्म विदेशी विनिमय सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ बराबर पुगेको छ।

गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेकामा ८ महिनामा १८ प्रतिशतले वृद्धि भएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा थुप्रिएको विनिमय सञ्चितिले १७.२ महिनाको वस्तु र १४.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्छ।

यो वर्ष ८ महिनामा चालु खाता १ खर्ब ८० अर्ब ८ करोडले बचतमा छ। गत वर्ष सोही अवधिमा चालु खाता १ खर्ब ६७ अर्ब ४५ करोडले बचतमा थियो।

फागुनसम्म शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोडले बचतमा छ। गत वर्ष सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा थियो।