काठमाडौं– ११ बुँदे मागसहित काठमाडौं महानगरपालिकाका कर्मचारी संगठनहरुले ज्ञापन पत्र बुझाएका छन्।
काठमाडौं महानगरमा कार्यरत कर्मचारी तथा पेशागत संगठनले नगर कार्यपालिकासमक्ष ११ बुँदे माग अघि सारेका हुन्।
उनीहरूले अघि सारेको मागको १ नम्बर बुँदामै केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय र कार्यकक्ष छिर्न नदिन राजु पाण्डे नेतृत्वको महानगर प्रहरीको व्यवहारसँग सम्बन्धित छ।
‘चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैह्रकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिइयोस्’, कर्मचारीहरूको माग छ ।
ज्ञापन पत्रमा स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचाबाबु मलाकार र वातावरण तथा सरसफाइ श्रमिक संघकी अध्यक्ष रमिला पराजुलीले हस्ताक्षर गरेका छन्।
मेयर बालेनसँग सुमधुर सम्बन्ध कायम राख्दै समृद्ध महानगर बनाउन चाहने प्रतिवद्धता जनाउँदै उनीहरूले मेयरको सचिवालयका कर्मचारी र सल्लाहकारहरूबाट वितृष्णा जगाउने र आम कर्मचारीले असहयोग गरेको दिलाउने गरी अफवाह फैलाउने प्रवृत्ति मौलाएको आरोप लगाएका छन्।
प्रतिक्रिया