काठमाडौं -नेपालले यु१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको छ ।
टस हारेर ब्याटिङ गरेको हङकङले ४६.२ ओभरमा अल आउट हुँदा मात्र ११६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले १२.३ ओभरमा एक विकेट गुमाउँदै जित निकालेको थियो ।
यसअघि नेपालले युएईलाई डिएलएस पद्धतिमा ५ रन र ओमानलाई ८ विकेटले हराएको थियो ।
अब, विश्वकप २०२६ मा स्थान बनाउन नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । शनिबार हुने खेलमा विजयी हुने टिम जिम्बाव्वे र नामिबियामा हुने विश्वकपमा स्थान बनाउनेछन् ।
योसँगै युएई र हङकङको सम्भावना सकिएको छ । अफगानिस्तानसँग पराजित भए ओमानको पनि सम्भावना सकिनेछ ।
नेपालको जितमा साहिल पटेलले ४१ बलमा ८ चौकासहित अविजित ४२ रन बनाए । कप्तान नरेन भट्टले अविजित ३९ रन बनाएका हुन् ।उनल २३ बलमा ८ चौका प्रहार गरेका थिए । निरज कुमार यादव१२ बलमा चार चौकासहित २३ रनको योगदान गरेका हुन् ।
यसअघि हङकङको लागि शिव माथुरले सर्वाधिक ६३ रन बनाए । उनले ११६ बलमा चार चौका र एक छक्का हिर्काएका हुन् । अन्य ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् ।
नेपालका युवराज खत्रीले १० ओभरमा ४ विकेट हात पारे । बिपिन शर्माले ६.२ ओभरमा ३ विकेट हात पारेका थिए । सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिएका थिए ।
प्रतिक्रिया