काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका नेता कार्यकर्ताले कांग्रेसबाट भए गरेका कामको प्रचार गर्न नसकेको बताएका छन्। कांग्रेसमा लोकतन्त्र भएको तर प्रश्न गर्दैगर्दा कामको प्रचार भने हुन नसकेको थापाको भनाई थियो।
बाराको सिमरामा आयोजित कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले राम्रो काम गरेको दाबी गरे।
‘कांग्रेस ‘बा’ को पार्टी हैन। यहाँ कोही भीम रावल बन्दैन। आनन्दले प्रश्न गरे हुन्छ। आलोचना गरे हुन्छ। तर सँगसँगै कामको प्रचार त गर्नुपर्यो नि,’ महामन्त्री थापाले भने, ‘संघमा स्वास्थ्यमन्त्रीले बीमालाई बढाउने कोसिस गर्नुभएको छ। कृषि मन्त्रीले दुधको भुक्तानी क्लियर गर्न प्रयास गर्नुभएको छ। पर्यटन मन्त्रीले एयरपोर्टको विषयलाई मिलाउँछु भन्नुभएको छ। परराष्ट्रमन्त्रीले विदेशमा बेपत्ता भएकाको खोजी कोसिस गर्नुभएको छ। तिनको बारेमा हामीले चर्चा गर्नुपर्छ।’
आफ्नो कामको प्रचार नगरे राजनीतिक दलमा भएकाहरुले कामै नगर्ने रहेछ भन्ने भ्रम जनतामा पर्न जाने उनको भनाई थियो।
‘वडामा वा मेयरमा राम्रो काम गरेको छ भने प्रशंसा गर्नुपर्छ। हामीले पनि प्रशंसा गरेन भने बाहिरको समाजले के भन्छ भने राजनीतिक दलमा आबद्धले त केही काम नगर्ने रहेछ। बरु स्वतन्त्रले पो काम गर्नेरहेछ भन्ने पर्छ,’ उनले भने।
प्रतिक्रिया